जोडिनुहोस
  • होमपेज
  • कृषि क्षेत्रको समस्या समाधानका लागि प्रदेशस्तरीय रणनीति आवश्यक

कृषि क्षेत्रको समस्या समाधानका लागि प्रदेशस्तरीय रणनीति आवश्यक

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कृषि क्षेत्रका विभिन्न समस्याहरू समाधान गर्न प्रादेशिक कृषि व्यापार प्रवर्द्धन रणनीति तय गर्नुपर्ने बताएको छ ।

महासंघले सोमबार विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कृषि क्षेत्रमा देखिएका समस्या र चुनौतीहरू उठान गर्दै त्यसको समाधानका लागि प्रादेशिक रणनीति आवश्यक रहेको बताइएको छ ।

कार्यक्रममा बोल्दै महासङ्घका नेतृत्वदायी उद्योगी व्यवसायीहरूले कृषि पेसागत संरक्षणको अभाव, उत्पादनको मूल्य अभिवृद्धि नहुनु, सरकारी अनुदान कार्यक्रमको कमजोर कार्यान्वयन, भण्डारण र बजारीकरणको चुनौतीलगायतका समस्या रहेको बताए । यस्तै, कृषि क्षेत्रमा लगानीका लागि वित्तीय संस्थाहरूबाट सहुलियतपूर्ण कर्जा प्रवाह हुन नसक्नु, कृषि उपजको गुणस्तर प्रमाणीकरणको समस्या र भारतीय बजारमाथि निर्भरता रहनु समेत मुख्य समस्याका रूपमा उठान भएको छ ।

कार्यक्रममा पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले प्रदेशको कुल निर्यातमा कृषि क्षेत्रको झन्डै ४५ प्रतिशत हिस्सा रहेको बताउँदै कृषि व्यापार प्रवर्द्धन रणनीतिको खाका प्रस्तुत गरेका थिए । उनले कोशी प्रदेशको भौगोलिक सुविधाका कारण प्रदेशले उच्च सम्भावना बोकेको उल्लेख गर्दै भारत र बङ्गलादेशलाई जोड्ने आर्थिक कोरिडोरको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । त्यसैगरी चिया, अलैंची, अदुवा लगायत २१ वटा सम्भावित निर्यातयोग्य वस्तुहरू पनि पहिचान गरिएको उल्लेख गरिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष चेतन निरौलाले रणनीतिले रैथाने बालीहरूको संरक्षण गर्नुपर्ने कुरा उठाए भने उदय परियोजनाका विष्णु काफ्लेले संविधानले दिएको जिम्मेवारी अनुसार प्रदेशको प्राथमिकता क्षेत्र छनोट गरी रणनीति बनाउनुपर्ने बताए ।

कार्यक्रममा कृषि व्यवसायीहरूले पनि आफ्ना सवालहरू औँल्याएका छन् । कृषि उत्पादनको मूल्य शृङ्खलाबारे चर्चा गर्दै व्यवसायीहरूले कृषि उपजको भण्डारण, मूल्य अभिवृद्धि, बजारीकरणलगायत पक्षहरूलाई व्यवस्थित गर्न रणनीति आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी बायोटेक कम्पनीका सञ्चालक ढुण्डी ढकालले नेपाली कृषि उपजले भारतीय बजारमाथि निर्भर हुनुपर्ने बाध्यता रहेको उल्लेख गरे भने केही कृषकले दूध विक्रीबाट आम्दानी प्राप्त हुन नसकेको गुनासो समेत राखे ।कोशी प्रदेश मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले रणनीतिमा उच्च मूल्य सिर्जना हुने बालीनालीलाई समेट्न सुझाव दिए भने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी पूर्वसचिव ओझाले विभिन्न निकायको सुझाव समेट्ने बताए । कार्यक्रममा कृषि क्षेत्रका विभिन्न उद्योगी व्यवसायी, उत्पादक संघसंस्था, सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने नेपाल डेरी एसोसिएसन कोशी प्रदेश, नेपाल अलैंची व्यवसायी महासंघ र नेपाल चिया उत्पादक सङ्घसँग समेत अन्तरक्रिया भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका