जोडिनुहोस
  • होमपेज
  • सरकारसँग सांसदको माग : मनसुनको पूर्वतयारी प्रभावकारी बनाउनुपर्‍यो

सरकारसँग सांसदको माग : मनसुनको पूर्वतयारी प्रभावकारी बनाउनुपर्‍यो

सांसदहरूले यस वर्षको मनसुनबाट हुनसक्ने मानवीय र भौतिक क्षति कम गर्नलाई सरकारलाई पूर्व तयारी प्रभावकारी बनाउन आग्रह गरेका छन् । नेकपा एमालेका सांसद रघुजी पन्तले मंगलबारको प्रतिनिधिसभा बैठकमा मनसुनको समयमा बाढी पहिरो र डुबानबाट बच्नको लागि पूर्वतयारी आवश्यक रहेको भन्दै तीनै तहका सरकार र सरोकारवाला निकायलाई प्रभावकारी कार्ययोजनासहित अहिलेबाटै पूर्ण तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिए ।

‘बाढी, पहिरोबाट धेरै मानिस प्रभावित हुने भनेर राष्ट्रिय विपद् प्राधिकरणले भनिरहेको छ । तर, जोखिमलाई कम गर्न पूर्वतयारी के छ ? बाढी पहिरो र डुबानबाट बच्नको लागि राम्रो तयारी अहिलेदेखि गर्नुपर्यो र त्यसको बारेमा प्रदेश सरकार र सम्बन्धित निकायलाई कसरी योजना र प्रक्रियामा सामेल गराउने हो सरकारले त्यता ध्यान दिनुपर्‍यो,’ सांसद पन्तले भने ।

यस्तै, सोलुखुम्बुका सांसद मानवीर राईले पनि सरकारले मनसुनको पूर्व तयारीको लागि गरेका कार्यबारे चासो दिएका छन् । सोलुखुम्बु बाढी र हिम पहिरोको जोखिममा रहेको स्मरण गराउँदै उनले विपदजन्य प्राकृतिक प्रकोपको पूर्वतयारी गर्दा सोलुखुम्बु जिल्लालाई समेत प्राथमिकता दिन आग्रह गरे ।

‘मनसुन सुरु हुन लागेको छ । सोलुखुम्बु जिल्ला बाढी पहिरो र हिम पहिरोको जोखिममा परेको हुनाले मनसुनमा हुनसक्ने क्षतिबारे तयारीका लागि सरकारलाई आग्रह गर्दछु,’ राईले भने ।

उनले सोलुको थुलुङ दूधकोसी र नेचासल्याण गाउँपालिकामा एक महिना अगाडि आगलागीमा परेका १४ घर परिवारका लागि बासस्थानको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । ‘थुलुङ दूधकोसी गाउँपालिका र नेचासल्याण गाउँपालिकामा एक महिना अगाडि १४ घर जलेर नष्ट भएका छन् । उहाँहरूको घरबासको व्यवस्थाको लागि सरकारसँग माग गर्न चाहन्छु,’ उनले भने ।

यस वर्षको मनसुन ३१ जेठबाट असोजको १८ सम्म आउने अनुमान मौसम विभागले गरेको छ । यो अवधिभर अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुबानबाट ४ लाख १२ हजार घरपरिवारका १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । त्यसमध्ये सबैभन्दा धेरै प्रभावित हुने कोशी प्रदेश हुने र मनसुनको कम प्रभाव कर्णाली प्रदेशमा पर्ने अनुमान सरकारको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका