
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राखेका छन् । मङ्गलबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद पाण्डेले गणतान्त्रिक व्यवस्थाले गन्तव्यमा पुर्याउन नसक्ने भन्दै राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले गणतन्त्ररूपी गाडीको तेल सकिइसकेकाले गन्तव्यमा पुग्न नसक्ने टिप्पणी गरे । पाण्डेले बजेट वक्तव्य माछोमाछो भ्यागुतो जस्तो हुने टिप्पणी गरे । उनले गणतन्त्रको विकल्प खोजेर अगाडि बढ्नुपर्ने बताए । यसो भए मात्रै देशलाई समस्याबाट मुक्त गर्न सकिने उनको भनाइ छ ।
‘बजेट भाषणमा जे परे पनि नपरे पनि हुने कुरा केही पनि छैन । टाँइटाँइ फिस भनेजस्तो माछामाछा भ्यागुतो हुनेजस्तो छ अरू कुराहरू केही देखिँदैनन् । त्यसैले गर्दा यो देशमा राष्ट्रिय सहमतिको साथ आफूले गरेका गल्तीहरूलाई स्विकारेर तुरुन्तै राष्ट्रिय सरकार गठन गरेर अगाडि बढेनौँ भने यो देशमा गणतन्त्ररूपी गाडीको तेल सकिइसकेको अवस्था छ,’ सांसद पाण्डेले भने, ‘गन्तव्यमा पुग्न नसक्ने अवस्था छ । यति हुँदाहुँदै पनि हामीले किन चेत्दैनौँ र किन नयाँ सोचका साथ हामी अगाडि बढ्दैनौँ । यसका लागि म सम्पूर्ण दलका नेताहरूलाई निवेदन गर्न चाहन्छु यो समस्याबाट देशलाई मुक्त गर्न अगाडि बढ्नका लागि अनुरोध गर्दछु ।’
उनले बजेटमा उल्लेख गरिएका कुरा पूरा नहुने पनि बताए ।