जोडिनुहोस
  • होमपेज
  • प्रहरीको निष्कर्ष: सिधा कुरा डटकममा प्रसारण भएको डार्क फाइलको अडिओ झुटो

प्रहरीको निष्कर्ष: सिधा कुरा डटकममा प्रसारण भएको डार्क फाइलको अडिओ झुटो

सिधाकुरा डट कममा प्रसारण भएको ‘डार्क फाइल’ को अडिओ झुटो भएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको छ।

सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले साइबर ब्युरोका प्रमुखसमेत रहेका डिआइजी नविन्द अर्याल नेतृत्वको ६ सदस्यीय छानबिन समिति बनाएको थियो। उक्त समितिले अडिओ झुटो भएको निष्कर्ष निकालेको हो। अदालतका न्यायाधीश, केही वरिष्ठ वकिल र मिडिया सञ्चालकहरूलाई मुद्दा मिलाएको आरोप लगाउँदै उक्त अडिओसहितको समाचार सिधाकुरा डट कमले प्रकाशन गरेको थियो।

समितिलाई छानबिन गर्न १५ दिनको समय दिइएको थियो। त्योभन्दा अतिरिक्त समय लिएर समितिले छानबिन गरेको थियो। समितिले प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन बुझाएर सर्वोच्च अदालतमा पनि बुझाइसकेको छ। यसरी गरिएको छानबिन प्रतिवेदनअनुसार सिधा कुरा डट कमलाई अडिओ दिने राजकुमार तिमिल्सिनाले गत वैशाख ५ गते बिहानतिर उक्त अडिओ आफै रेकर्डिङ गरेको सर्वोच्च स्रोतले बताएको छ। ‘वैशाख ५ गते बिहान तिमिल्सिनाले रेकर्डिङ गरेर साँझपख इमेल गरेको प्रतिवेदनमा उल्लेख छ,’ स्रोतले भन्यो।

प्रहरीले छानबिनको क्रममा प्राविधिक रूपमा अनुसन्धान तथा घटनामा संलग्न भनिएकाहरूको कागज गराएको थियो। अडिओ टेष्ट गर्दा पनि तिमल्सिनाको बाहेक अन्य आरोप लगाइएका कसैसँग पनि मेल नखाएको प्रतिवेदनमा उल्लेख छ।‘राजकुमारको बाहेक अन्य कसैको पनि भ्वाइस मिलेको देखिन्न। उनी आफैं ठूलो स्वरले बोलेका छन्। तर अन्यको आवाज मेल खाँदैन,’ स्रोतले भन्यो।

अडिओ रेकर्डिङ भएको भनिएको ठाउँमासमेत प्रहरी पुगेको थियो। सिधा कुरा डटकमले गत वैशाख १४ गते ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ भनेर समाचार प्रसारण गरेको थियो।

अडिओ प्रसारण भएपछि सर्वोच्चले अदालतको अवहेलना भएको भन्दै रिट दायर भएको थियो। रिट दायर भएसँगै सिधाकुरा डट कमले उक्त सामग्री हटाएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका