जोडिनुहोस
  • होमपेज
  • बीजेपीले बहुमत नपाउने भएपछि एनडीए फुटाउनतिर लाग्यो कांग्रेस

बीजेपीले बहुमत नपाउने भएपछि एनडीए फुटाउनतिर लाग्यो कांग्रेस

नयाँ दिल्ली । भारतमा लोकसभाको निर्वाचनको मतगणना रोमाञ्चक भइरहेको छ । अहिलेसम्मको रुझानले बीजेपी बहुमतबाट टाढा रहने देखाइरहेको छ ।

यस्तोमा कांग्रेसले एनडीए गठबन्धनका साझेदारहरूलाई रिझाउन आफ्नो सक्रियता बढाउन शुरु गरेको छ । स्रोतका अनुसार कांग्रेसले जेडीयू नेता लालन सिंहसँग सम्पर्क गरेको छ । योसँगै टीडीपीलाई इन्डिया गठबन्धनमा ल्याउने प्रयास भइरहेको छ । सोनिया गान्धीका सारथी केसी वेणुगोपालले टीडीपी प्रमुख चन्द्रबाबु नायडूका छोरा नारा लोकेशसँग कुरा गरेको बताइएको छ ।

अहिलेसम्मको रुझान हेर्दा अब बन्ने समीकरण निकै रोचक हुने देखिएको छ । यो समाचार तयार पार्दासम्म एनडीए २९० सिटमा अगाडि छ । तर, बीजेपीले २३६ सिटमा मात्र अग्रता लिएको छ । यस्तो अवस्थामा आगामी सरकार गठनमा गठबन्धन साझेदारको भूमिका निकै महत्त्वपूर्ण हुनेछ । टीडीपी १६ सिटमा अगाडि छ भने नितिश कुमारको जेडीयू १४ सिटमा अगाडि छ । उता, एलजेपी ५ सिटमा, शिवसेना ५ सिटमा र जेएसपी २ सिटमा अगाडि छ ।

इन्डिया गठबन्धन २३१ सिटमा अगाडि छ । जसमा कांग्रेस ९३ सिटमा अगाडि छ । अघिल्लो लोक सभा निर्वाचनको तुलनामा यस पटक कंग्रेसले ४१ सिट बढी जित्ने देखिन्छ । गठबन्धनका अन्य सहयोगीहरूमध्ये समाजवादी पार्टी ३२ सिटमा, टीएमसी ३१ सिटमा, डीएमके २१ सिटमा, एनसीपी शरद पवार ७ सिटमा, शिवसेना यूबीटी ११ सिटमा, आरजेडी ४ सिट र सीपीएम ५ सिटमा अगाडि छन् ।

अहिलेसम्मको रुझान अनुसार नै अन्तिम परिणाम आयो भने भावी सरकार गठनमा गठबन्धनका साना साझेदार दलहरुको महत्त्व निकै बढ्नेछ । कांग्रेसले जेडीयू र टीडीपीलाई आफ्नो पल्लामा ल्याउन जुटेको कारण पनि यही हो । यी दुवै दल यसअघि विपक्षी गठबन्धनमा रहेका थिए । तर यिनीहरू गठबन्धन फेर्न माहिर छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका