फुटबल क्लब एफसी चितवनु ले नेपालमा फुटबल खेलका विभिन्न आयामबारे सरोकारवालाबीच अन्तरक्रिया गराएको छ । एफसी चितवनले भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभालाई हुर्काउने र दिगो भविष्यको निर्माणको पहलहरूका बारेमा भरतपुरमा छलफल आयोजना गरेको हो । अन्तरक्रियामा पाँच सय जनाभन्दा बढी खेलाडी, विद्यार्थी र नेपाली फुटबलका सरोकारवाला सहभागी थिए ।
छलफलमा फुटबल खेल तथा खेलाडीको विकासमा स्थानीय निकाय, सङ्घ–संस्था, निजी संस्था र खेलाडीहरूको भूमिकाबारे विभिन्न दृष्टिकोण प्रस्तुत भएका थिए । साथै विभिन्न सरोकारवालाबीच समन्वय, लगानीमैत्री वातावरण सिर्जना, लिग प्रणालीलाई पुनर्संरचना र नीति निर्माणमा खेलाडीहरूको आवाजलाई समावेश गर्नेजस्ता महत्त्वपूर्ण विषयहरू पनि छलफलमा उठेका थिए ।
अन्तरक्रिया सँगसँगै खेलकुद विज्ञान, पोषण, शारीरिक तन्दुरुस्ति, खेलकुद मनोविज्ञान र चोटपटक रोकथामजस्ता आवश्यक विषयहरूमा समेत विज्ञद्वारा प्रस्तुति गरिएको थियो । आधुनिक उपकरण तथा प्रस्तुतिबाट विद्यार्थी खेलाडीहरू उत्साहित भएका थिए । यसलाई अबका प्रशिक्षण र विकासमा जोड्नुपर्ने खेलाडीहरूको भनाइ थियो ।
अन्तरक्रियामा अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्बाङ, एफसी चितवनका अध्यक्ष सचिन ढकाल र खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाको पनि सहभागिता रहेको थियो । यो अन्तरक्रियासँगै एफसी चितवनले आफ्ना साझेदारहरूसँग मिलेर पालिकाबाटै फुटबलको रूपान्तरणको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।