जोडिनुहोस
  • होमपेज
  • दाङमा छोडपत्रपछि श्रीमतीको हत्या

दाङमा छोडपत्रपछि श्रीमतीको हत्या

काठमाडौं । दाङको तुलसीपुरमा नेपाली सेनाका अमलदार ३६ वर्षीय शालिकराम बुढाथोकीले छोडपत्र भइसकेकी श्रीमतीको हत्या गरेका छन् ।

करिब ३० वर्षीया टीका रावत ज्यान जोगाउन डेरा कोठाबाट भागेर छिमेकीको घरमा पुगे पनि शालिकराम त्यहीँ पुगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार शालिकराम र टीकाबीच जेठ १४ गते मात्र छोडपत्र भएको थियो । ‘छोडपत्र भए पनि केही लाख लेनदेन बाँकी नै थियो । आफ्ना सामान लिन भनेर शालिकराम आज बिहान ८ः२५ बजेतिर डेरा कोठामा पुग्दा विवाद भएपछि घटना भएको रहेछ,’ डिएसपी पोखरेलले भने ।

आक्रमणबाट जोगिँदै टीका डेरा कोठाबाट भागेर छिमेकी तुलसीराम ओलीको घरको पहिलो तालाको कौसीमा पुगेकी थिइन् । शालिकराम त्यहीँ गएर हतियार प्रहार गरेर हत्या गरेको डीएसपी पोखरेलले जानकारी दिए । डीएसपी पोखरेलका अनुसार यो घटना करिब आधा घण्टाको बीचमा भएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका ६ घर भएका शालिकराम ज्वालादल गण बारामा कार्यरत थिए । उनी इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा छन् । प्रहरीका अनुसार अमलदार बुढाथोकीले अछामको कमलबजार नगरपालिका घर भई हाल १९ नम्बर बाहिनी तुलसीपुर दाङमा कार्यरत २९ वर्षीय सैनिक जवान आर्यन थापालाई पनि आक्रमण गरी घाइते बनाएका छन् । टाउको र काखीमा चोट लागेका थापाको उपचार जारी छ ।

सैनिक जवान थापा माथिको आक्रमण र सोही दिन टीकाको हत्या भएको घटनाको सम्बन्ध केलाउँदै अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

धेरै टिप्पणी गरिएका