जोडिनुहोस
  • होमपेज
  • नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा ११ अर्ब ६ करोड बराबरको नाफा कमाएको छ ।

प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ ।

प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत् खरिद, प्रशासनिक, आयोजनामा लगानी लगायतमा जम्मा ८२ अर्ब ८८ करोड खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ ।

प्राधिकरणले यसअवधिमा ११ अर्ब ६ करोड नाफा (करकट्टी गर्नुअघि अपरिष्कृत) आर्जन गरेको हो । गत आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा प्राधिकरणको नाफा आठ अर्ब ८८ करोड थियो । गत आवको मुनाफा १३ अर्ब ३७ करोड थियो ।

प्राधिकरणको सञ्जित मुनाफा ३३ अर्ब ६४ करोड पुगेको छ । आव २०७२/०७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट निरन्तर नाफामा छ । विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रूपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रण लगायतले गर्दा चालु आवको नौ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताइएको छ ।

प्राधिकरणले चालु आवको नौ महिनामा विद्युत् बिक्रीबाट ६८ अर्ब ८९ करोड खुद संकलन गरेको छ । यस अवधिमा देशभित्रका निजी क्षेत्रका ऊर्जा उत्पादकबाट र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीबाट विद्युत् खरिदका ३८ अर्ब २० करोड भुक्तानी गरिएको छ ।

यसअवधिमा हिउँदयामको माग धान्न ११ अर्ब ५५ करोडको विद्युत् भारतबाट आयात गरिएको छ । आन्तरिक रूपमा खपत गरी बढी भएको १३ अर्ब ४२ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

आफ्नो स्रोतबाट झन्डै १८ अर्ब खर्च
प्राधिकरणले आफूले कमाएको नाफाबाट चालु आवको चैत महिनासम्ममा १७ अर्ब ८२ करोड विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको लगानी गरेको छ । यसअवधिमा सरकारले विभिन्न आयोजना र ग्रामीण विद्युतीकरणका लागि प्राधिकरणलाई एक अर्ब ६३ करोड रुपैयाा ऋण दिएको छ ।

सरकारले दिएको ऋण र आफ्नो स्रोतबाट यस अवधिमा १९ अर्ब ४५ करोड विकास बजेट खर्च भएको छ । यसअवधिमा वैदेशिक सहायतातर्फबाट १४ अर्ब ४३ करोड खर्च भएको छ । रासस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका