जोडिनुहोस
  • होमपेज
  • जबज मार्गदर्शक सिद्धान्त भन्नु लज्जास्पद : झलनाथ खनाल

जबज मार्गदर्शक सिद्धान्त भन्नु लज्जास्पद : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा जनताको बहुदलीय जनवाद (जबज) मार्गदर्शक सिद्धान्त भन्नु लज्जास्पद भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमा देखिएको परिवर्तन अधोपतन भएको बताए ।

“१४ वर्ष जेल बसेका मान्छे, अहिले समाजवादी क्रान्तिको युगमा जबज हाम्रो मार्गदर्शक सिद्धान्त भनेर हिँडिरहेका छन् । लज्जास्पद कुरा हो । मार्क्सवाद, लेनिननवाद पनि होइन, सबैभन्दा पहिले के आउँछ भन्दा जबज हो,” उनले भने ।

उनले एमालेसँग एकीकृत समाजवादीको सैद्धान्तिक र वैचारिक भिन्नता प्रस्ट पारिनुपर्नेमा जोड दिए । समाजवादी संगठन निर्माण गर्न शक्तिशाली पार्टी चाहिने उनले बताए । सही कार्यदिशा लिएर अघि बढ्नुपर्ने आवश्यकता उनले औँल्याए ।

“समाजवादी संगठन निर्माण गर्दै अघि जानुपर्नेछ । त्यसका लागि अत्यन्त शक्तिशाली क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्नेछ । अहिले नेकपा (एकीकृत समाजवादी) सानो होला, तर हामी यो क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्त लिएर गयौँ भने दिन दुई गुना रात चार गुना बढ्दै जानेछ । हामीले सही कार्यदिशा लिएर जानुपर्ने हुन्छ,” उनले भने, “ हामी ढुलमुलाउन थाल्यौँ भने न पार्टी बन्छ न क्रान्ति ।”

दक्षिणपन्थी अवसरवाद नतोडेसम्म समाजवादी क्रान्ति अघि बढ्न नसक्ने उनको भनाइ छ । उनले पार्टी तीन वर्ष पुग्न लाग्दा पनि हिजोको धङधङीबाट अघि बढ्न नसकेको टिप्पणी गरे ।

खनालले भ्रष्टाचारलाई उन्मूलन गर्न समाजवादमा पुग्नैपर्ने उल्लेख गरे । स्वास्थ्योपचारको व्यापारीकरणको अन्त्य, गरिबी उन्मूलनका निम्ति समाजवादमा पुग्नुपर्ने उनले बताए । पुँजीवादले गरिबी उन्मूलन नगर्ने उनको बुझाइ छ । अहिले कम्युनिस्ट आन्दोलन र पार्टीमा ओहदा, पदले डेरा जमाएको उनले सुनाए ।

धेरै टिप्पणी गरिएका