जोडिनुहोस
  • होमपेज
  • अज्ञात रोगले जुम्लाको हिमा गाउँपालिकामा २३ भेडा मरे

अज्ञात रोगले जुम्लाको हिमा गाउँपालिकामा २३ भेडा मरे

कर्णाली- जुम्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले २३ भेडा मरेका छन् । सो पालिकामा पर्ने नदै पाटन र ठाकुरपानीमा भेडा मरेको स्थानीय वीरबहादुर शाहीले जानकारी दिए ।

उनले आफ्ना १०, कर्णबहादुर शाहीका छ, अकलबहादुर शाहीका चार र जिरबहादुर शाहीका तीन वटा भेडा मरेको बताए । ‘भेडामा पातलो दिसा हुने, ज्वरो आउने, काप्ने, रिङ्गटा लाग्ने, झोक्राउने समस्यापछि मृत्यु हुने गरेको छ,’ उनले भने, ‘यो तीन दिनमा १० र एक महिनामा २३ भेडा मरिसकेका छन् ।’ यसरी भेडा मर्न थालेपछि उपचारका लागि पशु प्राविधिकलाई खबर गरिएको उनको भनाइ छ ।

हिमा गाउँपालिकाका पशुशाखा प्रमुख नरसिङ थापाले त्यस क्षेत्रमा पशु प्राविधिक पठाउने तयारी भइरहेको बताए ।उनका अनुसार औषधि सकिएकाले स्थानीय तहमा खरिद गर्ने तयारी भइरहेको छ । औषधि अभावले हिमामा समस्या भइरहेको किसानको गुनासो बढिरहेको छ । उनले उपचार तथा रोकथामका लागि पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लामा औषधिको माग गरिएको बताए ।

पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका कार्यालय प्रमुख ज्ञानेन्द्र सिंह वुढ्थापाले स्थानीय तहमा रहेको पशु शाखाले पहिचान गरेको रोगका आधारमा औषधि पठाउने जानकारी दिए । भेडा मर्न थालेपछि भेडीगोठ नदै पाटनबाट कालाकाटियातिर सारिएको स्थानीय किसानले जानकारी दिएका छन् ।

धेरै टिप्पणी गरिएका