जोडिनुहोस
  • होमपेज
  • त्रिविको जग्गा खोजी गर्न गठित समितिले थाल्यो काम

त्रिविको जग्गा खोजी गर्न गठित समितिले थाल्यो काम

काठमाडौं। त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आजदेखि काम थालेको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आइतबार समितिका पदाधिकारीहरुलाई शिक्षामन्त्री सुमना श्रेष्ठ, सचिव डा दिपक काफ्लेलगायत अधिकारीहरुले स्वागत गरेका छन्। मन्त्री श्रेष्ठले समितिले निर्धारित समयमा काम सम्पन्न गर्ने अपेक्षा गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

गत जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव त्रितालको संयोजकत्वमा समिति गठन गरेको थियो। उक्त समितिको सदस्यमका पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी, त्रिविका विज्ञ सदस्य प्रा डा प्रेमसागर चापागाईं रहेका छन्।

समितिको सदस्यसचिव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिवलाई तोकिएको छ। समितिले त्रिविका नाममा विभिन्न ठाउँमा रहेका जग्गामध्ये प्रारम्भिक चरणमा उपत्यकाभित्रको जग्गाको अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य चलअचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका