जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति युरोप भ्रमणमा जाँदै

राष्ट्रपति युरोप भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार स्विट्जरल्यान्डको जेनेभा जान लागेका छन् ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले यही जेठ ३० गते स्विस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

नेपालका राष्ट्र प्रमुख र स्विस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको यो पहिलोपटक भएको बताइएको छ । भ्रमणपछि राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयलका कार्यवाहक सचिव एवं प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

उनले सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टिनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । राष्ट्रपति पौडेलले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समुदायको साझा मञ्चमा नेपालका राष्ट्र प्रमुखले आफ्ना विचार राख्न पाउने अवसर देश र जनताका लागि महत्वपूर्ण अवसर भएको बताइएको छ ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले आइएलओको सम्मेलनमा मुख्य वक्ताका रुपमा राष्ट्रपतिलाई आमन्त्रण गरिनुले संयुक्त राष्ट्र सङ्घले सामाजिक न्यायको कार्यसूचीलाई हाम्रो संविधान र सङ्घीय लोकतन्त्रान्त्रिक गणतन्त्रले पूर्ण रुपले आत्मसात् गरेको विषयलाई अन्तर्राष्ट्रियजगत्मा स्थापित गरेको रुपमा बुझ्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्विट्जरल्यान्ड र जर्मनीका लागि नेपाली राजदूतहरु तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहनेछन् ।
राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका