जोडिनुहोस
  • होमपेज
  • युनिसेफले ११ जुनमा अन्तर्राष्ट्रिय खेल दिवस मनाउने

युनिसेफले ११ जुनमा अन्तर्राष्ट्रिय खेल दिवस मनाउने

काठमाडौं । युनिसेफले यस वर्षदेखि ११ जुनमा अन्तर्राष्ट्रिय खेल दिवस मनाउने भएको छ ।

खेलले बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक तथा बौद्धिक विकासमा सहयोग गर्ने, बालबालिकाले अरूसँग सम्बन्ध बनाउन, नेतृत्व सीप र प्रतिरोधी क्षमता विकास गर्न, सामाजिक चुनौती चिन्न र निडर हुन मद्दत पुग्ने भएकोले खेल दिवस मनाउन सुरु गरिएको युनिसेफले जनाएको छ ।

सुरक्षित खेलले बालबालिकाको कल्पना र रचनात्मक अभिव्यक्ति विकास गर्न मद्दत पुग्ने तथा खेलबाट समाज बुझ्न पनि सक्षम हुने भएकोले बालबालिकाको जीवनमा खेल महत्त्वपूर्ण रहेको युनिसेफका प्रारम्भिक बालविकास विज्ञ दिपु शाक्यले जानकारी दिए ।

जुन महिनामा ‘फादर्स डे’लगायत बालबालिका र अभिभावक जोडिने चाडबाड भएकाले अन्तर्राष्ट्रिय खेल दिवस जुनमा मनाउने निर्णय भएको युनिसेफकी सञ्चार विज्ञ सुर्मिना मानन्धरले बताइन् । खेल दिवसलाई घर र विद्यालयमा मनाउन सकिने भएकाले युनिसेफ नेपालले अभिभावक तथा शिक्षकलाई आफ्ना बालबालिकासँग खेल्न, कुराकानी गर्न अनुरोध गरेको छ ।

त्यसका लागि विभिन्न तरिकासमेत सुझाएको छ । अभिभावक तथा शिक्षकलाई खेल खेल्ने वातावरण तयार गर्न अनुरोध गरेको छ । साथै अभिभावकले आफ्ना बालबालिकाको मनपर्ने खेलको विषयमा कुराकानी गर्न, घरमा सजिलै पाइने सामानबाट खेलौना बनाउन, घर बाहिर गएर खेलाउन र ११ जुन (मंगलबार)मा कम्तिमा आधा घण्टा बालबालिकासँग खेल्न अनुरोध गरेको छ ।

त्यस्तै युनिसेफले विद्यालयले बालबालिकाको मनपर्ने खेल र खेलौनाबारे समूहमा बताउन, खेल्न सिकाउन, अभिभावकले सानो हुँदा खेल्ने खेल बालबालिकालाई खेलाउन, विद्यालय नजिकैको प्राकृतिक वातावरणमा खेल्न दिन लगायतको अनुरोध गरेको छ । खेलले सहजीकरण, द्वन्द्व रोकथाम र शान्ति निर्माणमा सकारात्मक प्रभाव पार्ने भएकोले बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिले खेललाई प्रत्येक बालबालिकाको मौलिक अधिकारका रूपमा स्थापित गरेको छ । नेपालले यो महासन्धिमा हस्ताक्षर गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका