जोडिनुहोस
  • होमपेज
  • श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्छः मन्त्री श्रेष्ठ

श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्छः मन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्ने बताएका छन् । वागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट आयोजना गरेको “श्रमाधान रोजगार मेला” को शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन् । उनले यो शुरुवात मात्रै भएको भन्दै मेलाले उद्यमी बन्न चाहनेको लागि सहज प्रक्रियाको जानकारी दिने बताइन् । उनले कुनै रोजगारीको लागि कस्तो खालको शिक्षा तथा सीपको आवश्यकता पर्दछ भन्ने विषयमा पनि छलफल हुने बताइन् । मन्त्री श्रेष्ठले उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा भोकेशनल तालिमहरु सञ्चालन गर्न सकिने बताइन् ।

कार्यक्रममा वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले रोजगार मेलाले सीप र कामको महत्व पनि बुझाउने बताए । मेलाको उपलब्धी आजको भोलि नै नदेखिने भन्दै यसले दीर्घकालीन रुपमा सकरात्मक परिणाम देखाउने बताए । आगामी दिनमा यो मेलालाई अभियानको रुपमा नै लैजानुपर्ने उनको भनाइ छ । मेलाले मुलुकभित्र केही हुन सक्दैन भनेर विदेशिनेको मनोविज्ञानलाई परिवर्तन गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दैनिक १५सय को हाराहारीमा वैदेशिक रोजगारीमा गइरहेको अवस्थामा यस्तो खालको मेलाले थोरै भएपनि नेपाली युवालाई नेपाल भित्रै रोकी राख्न मद्दत पुग्ने बताए । मेलालाई ठूलो उपलब्धी रुपमा लिन सकिने बताए ।

जेठ १७ गते देखि कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला वागमती प्रदेशको ललितपुरमा आजदेखि शुरु भएको हो । मेला भोलिसम्म सञ्चालन हुनेछ । मेलामा ८० वटा नीजि तथा सरकारी क्षेत्रका स्टल रहेका छन् ।

धेरै टिप्पणी गरिएका