जोडिनुहोस
  • होमपेज
  • सांसद कंसकारको प्रश्न– यो देशले जलेका व्यक्तिलाई नागरिक गन्दैन ?

सांसद कंसकारको प्रश्न– यो देशले जलेका व्यक्तिलाई नागरिक गन्दैन ?

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विन्दवासिनी कंसाकारले जलनको दुर्घटनामा परेकाहरूलाई सरकारले नागरिक सरह गणना नगरेको भन्दै दुखेसो पोखेकी छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा आगामी वर्षको बजेटअन्तर्गत मन्त्रालयगत छलफलमा बोल्दै उनले जलन समस्यालाई पनि क्यान्सर र मृगौलापीडित सरह विशेष प्राथमिकतामा राखेर उपचार गर्न अनुरोध गरिन् । “के यो देशले जलेका व्यक्तिलाई नागरिक गन्दैन ? जलनलाई पनि मृगौला र क्यान्सरपीडित सरह राज्यले स्रोतसाधन र अस्पताल बनाओस्,” उनले भनिन् ।

उनले जलनको समस्या सम्बोधन गर्ने काम बजेटले नगरेको र हजारौँ जलेका नागरिकलाई अन्देखा गरेको भन्दै खेद प्रकट गरिन् । “यसबाट पीडित हुनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको संख्या धेरै छ । अधिंकाश जलन दुर्घटनाबाट हुन्छ, पीडा शब्दमा वर्णन गर्न सकिँदैन,” उनले भनिन्, “प्रधानमन्त्रीले सदनमा धेरै पटक जलनका अस्पताल खोल्छु भनेर बोल्नुभयो, बजेटमा त्यो प्राथमिकतामा परेन ।”

दुई वटा अस्पतालले जलनको उपचार गर्दै आएको भन्दै उनले जलनको उपचार कान्ति, वीर, पाटनलगायत अस्पतालमा हुने गरे पनि ६, सात वटा वेडमात्र छुट्याउँदा उपचार पर्याप्त हुन्छ भन्दै प्रश्न गरिन् । “जलनको उपचार एकदमै महँगो छ । जलन दुर्घटनामा निधन हुने भुइँमान्छेहरू धेरै छन्,” उनले भनिन्, “कहिलेसम्म हामीले आँखा चिम्लने ? कहिलेसम्म अमानवीय पीडालाई हामीले सम्बोधन नगर्ने ?”

उनले यस्ता संवेदनशील विषय बजेटमा समावेश नहुनु लजास्पद विषय मात्र नभएको भन्दै अमानवीय क्रियाकलाप समेत भएको उल्लेख गरिन् ।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?