जोडिनुहोस
  • होमपेज
  • काठमाण्डौमा गर्मी अत्यधिक बढ्यो, मनसुन काठमाण्डौ उपत्यकामा भित्रिन अझै ३ दिन लाग्ने

काठमाण्डौमा गर्मी अत्यधिक बढ्यो, मनसुन काठमाण्डौ उपत्यकामा भित्रिन अझै ३ दिन लाग्ने

काठमाण्डौ उपत्यकामा गर्मी निकै बढेको छ । रातको समयमा गर्मी धेरै भएकाले विशेषगरी माथिल्लो तलामा सुत्नसमेत समस्या हुने गरेको छ । बितेका ३० वर्षको तथ्याङ्कलाई आधार मान्दा जुन महिनामा काठमाण्डौको सरदर अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस हो । तर गएको जुन १० अर्थात् जेठ २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वचालित मौसम मापन केन्द्रमा ३४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । गएको वर्षको जुन १० तारिखमा काठमाण्डौको अकितम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस थियो ।

यसैबीच अस्ति सोमवार कोशी प्रदेश हुँदै नेपाल भित्रिएको मनसुन शनिवारसम्ममा काठमाण्डौ उपत्यकामा भित्रिने भएको छ । अहिले कोशी प्रदेशमै रहेको मनसुन शनिवारसम्ममा काठमाण्डौ उपत्यका आइपुग्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्रध्यापक विनोद पोख्रेलले जानकारी दिनुभयो ।

मनसुन पूर्वी नेपालबाट भित्रिएर झन्डै एक हप्तामा देशभर फैलन्छ । अहिले कोशी प्रदेशबाहेकका ठाउँमा स्थानीय र पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाण्डौ उपत्यकामा आज सामान्य बादल लाग्छ । पानी पर्ने सम्भावना भने निकै कम छ ।

धेरै टिप्पणी गरिएका