
अर्घाखाँचीका सन्धिखर्क नगरपालिका र पाणिनि गाउँपालिकाले पालिकाको अर्ग्यानिक उत्पादन बिक्रीका लागि जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेड काठमाण्डौसँग सम्झौता गरेका छन् । बिक्री सम्झौतासँगै किसानले उत्पादन गरेका अर्ग्यानिक वस्तुको बजारीकरणमा समस्या नहुने आशा बढेको छ । सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले कृषि उपज वस्तु कम्पनीले उचित मूल्यमा खरिद गर्ने जानकारी दिनुभयो ।
किसानको आयआर्जनमा वृद्धि, अर्ग्यानिक खेती, विभिन्न उत्पादन प्रक्रिया र बजारीकरणमा जोड्ने गरी कम्पनीले काम गरिरहेको जनता एग्रो फरेस्ट्रीका अध्यक्ष पवनकुमार गोल्यानले बताउनुभयो । कम्पनीले दुई पालिकामा समूहमार्फत उत्पादन भएका अदुवा, बेसार, टिमुर, कफी, दाते ओखर, छुर्पी, गाईको घिउ खरिद गर्ने उहाँले बताउनुभयो ।