जोडिनुहोस
  • होमपेज
  • टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भयो : रेशम चौधरी

टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भयो : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा थारुहरुलाई जबर्जस्ती दोषी बनाइएको भन्दै उनीहरुलाई उचित क्षतिपूर्ति दिएर राज्यले माफी माग्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले प्रश्न गरे, ‘हाम्रो के अपराध थियो ? जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्‍यायो त्यो साढे ८ वर्ष जेल बस्नुपर्ने ?’

टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको भन्दै उनले गिरिशचन्द्र लाल नेतृत्वको आयोगमा उक्त विवरण रहेको बताए । ‘टीकापुर घटना कसले गरायो हामीलाई नसोध्नुस् । लाल आयोगलाई सोध्नुस् । मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौं। टीकापुरको अब नाम भन्ने बेला आएको छ’, चौधरीले भने ।

साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखद भएको पनि चौधरीले बताए । ‘महाधिवेशन नै नगर्ने पार्टीहरु वैध, पुसको कठ्याङ्ग्रिने जाडोमा जनताहरु आएर गरेको महाधिवेशन अवैध ?’ उनले प्रश्न गरे ।

उनले अहिलेको शासन पद्धतिबाट आफूहरु आजित भएको भन्दै चौधरीले अब नयाँ शासन पद्धति ल्याउनुपर्ने धारणा राखे ।

धेरै टिप्पणी गरिएका