
कप्तान ब्राएन मासबा र युगाण्डाको क्रिकेट टिमले आफ्नो शैली र उत्साहमा टी–२० विश्वकपमा पहिलो जित सेलिब्रेट गर्यो । दशक लामो क्रिकेट यात्रामा टी–२० विश्वकपमा स्थान बनाउनु नै ठूलो सफलता थियो । तर विश्वकपको आफ्नो दोस्रो खेलमा ऐतिहासिक जित निकाल्न सफल भयो । तर वेष्ट इण्डिजको प्रोऐडेन्स स्टेडियमको यो खेल युगान्डा र पपुपा न्युगिनी दुवैका लागि खेल टी–२० विश्वकपमा आफ्नो पहिलो जित हात पार्ने अवसर थियो । २०२१ मा टी–२० विश्वकपमा डेब्यू गरेको पपुवा न्युगिनीले चार वटै खेल गुमाएको थियो । यो पटक पनि पहिलो खेलमा सहआयोजक वेष्टइण्डिजसँग पराजित भएको थियो । पहिलो पटक टी–२० विश्वकप खेलेको युगाण्डा पनि आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो । त्यसैले बिहीबार पुपवा न्युगिनी र युगाण्डामध्ये एकले टी–२० विश्वकपमा पहिलो जितको रेकर्ड बनाउने पक्का थियो । त्यसमा अफ्रिकन राष्ट्रले बाजी मार्यो ।पपुवा न्युगिनीले दिएको ७८ रनको लक्ष्य युगाण्डाले १० बल अगावै ७ विकेट गुमाएर पूरा गर्यो । २.१ ओभरमा ६ रन जोड्दा ३ विकेट गुमाएको युगाण्डा ७ ओभरमा २६–५ को अवस्थामा थियो । तर रियाजत अली शाहले महत्वपूर्ण पारी खेले । सर्वाधिक ३३ रन बनाएका उनले छैटौं विकेटका लागि जुमा मियागीसँग ३५ रनको महत्वपूर्ण साझेदारी गरे । मियागी व्यक्तिगत १३ रनमा आउट भए, थप १४ रन जोडेपछि रियाजत पनि आउट भए । तर त्यस बेलासम्म युगाण्डको जितको आधार तय भइसकेको थियो, यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर ७७ रन बनाएको थियो । युगाण्डाका ४३ वर्षीय स्पीनर फ्रेङ्क न्सुबुगाले विश्वकप इतिहासमा इकोनोमिकल ओभर बलिङ गरेका थिए । पूरै चार ओभर बलिङ गरेका उनले ४ रन मात्र दिएर २ विकेट लिएका थिए । अल्पेश रामजानी, कस्मास केइवुता र जुमाको नाममा पनि २–२ विकेट रह्यो भने ब्रायन मासाबाले एक विकेट लिए । ऐतिहासिक जितपछि युगाण्डाका खेलाडीहरू समर्थकहरूलाई सम्मान व्यक्त गर्न बाउण्ड्री डोरीमा जम्मा भए, जो अफ्रिकाबाट आएका थिए । उनीहरूको सेलिब्रेसन यत्तिमा रोकिएन । युगाण्डाका खेलाडीहरू आफ्नो गीत गाए, नाचे, जुन क्षणभरमै भाइरल भयो । ‘क्रिकेट क्रेन’ का कप्तान मासबा भन्छन्, ‘विश्वकपमा पहिलो जित, यो भन्दा विशेष हरु केही हुनसक्दैन ।’