जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री भारत गएर फर्केको कुरा संसद्ले पत्रिका पढेर थाहा पाउनु दुर्भाग्य : कांग्रेस

प्रधानमन्त्री भारत गएर फर्केको कुरा संसद्ले पत्रिका पढेर थाहा पाउनु दुर्भाग्य : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएर स्वदेश फर्किएको ५ दिन बितिसक्दा पनि संसद्लाई जानकारी नगराएको भन्दै आपत्ति जनाएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग आकस्मिक समय माग्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको बारेमा संसद् जानकारी गराउनका लागि सभामुखलाई रुलिङ गर्न माग गरे ।

उनले भारतमा लोकसभाको निर्वाचन सम्पन्न भएर भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी निर्वाचित भएपछि प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिन जानु ठिक भए पनि संसद् जानकारी नगराएको आपत्ति जनाए । यस्तै राष्ट्रपति रामचन्द्र पौडेल पनि देशबाहिर गएको कुरा संसद्ले पत्रिका पढेर थाहा पाउनु दुःखद रहेको बताए ।

प्रमुख सचेतक लेखकले भने– ‘मित्रराष्ट्र भारत ठूलो लोकतन्त्र भएको मुलुक हो, लोकसभाको निर्वाचन भयो खुसीको कुरा हो । महामहिम मोदीजीलाई बधाई दिने सम्मान व्यक्त गर्ने, शुभकामना दिने कुरा ठिक हो, तर यो सबै कुरा गर्दा सम्माननीय प्रधानमन्त्रीज्यू हाम्रै सदन, यही गरिमामय संसद्लाई बिर्सनुभयो कि भन्ने कुराको आग्रह गर्दछु । हाम्रो एउटा परम्परा, संसदीय अभ्यास छ, देशको कार्यकारी प्रमुख, मन्त्री कुनै पनि मित्रराष्ट्रको भ्रमणमा जानुअघि कहिले जाने, कुन उद्देश्यले जाने र फर्केपछि जानकारी गराउने संसद्लाई जानकारी गराउनुपर्दछ ।’

प्रमुख सचेतक लेखकले प्रधानमन्त्री जेठ २७ गते भारत गएर २८ गते फर्किएको पनि ५ दिन भएको तर संसद्लाई जानकारी नगराएको बताए । प्रमुख प्रतिपक्षी दल प्रधानमन्त्रीले जानकारी गराउने होला भनेर प्रतीक्षा गरेर बसेको उल्लेख गरे ।

प्रधानमन्त्री भारत भ्रमणमा गएको र फर्किएको कुरा पत्रिका पढेर थाहा पाउनुपर्ने अवस्था दुर्भाग्यपूर्ण रहेको बताए । यस्तै राष्ट्रपति पनि देश बाहिर गएको तर संसद्ले अखबार पढेर थाहा पाउनु दुःखद रहेको बताए । उनले संसद्लाई जानकारी गराउन सभामुखले रुलिङ गर्नुपर्नेमा जोड दिए ।

धेरै टिप्पणी गरिएका