जोडिनुहोस
  • होमपेज
  • हवाई टिकटको अनावश्यक भ्याट हटाइन्छ : पर्यटनमन्त्री

हवाई टिकटको अनावश्यक भ्याट हटाइन्छ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हवाई टिकटमा सरकारले लगाइरहेको मूल्य अभिवृद्धि कर (भ्याट) अनावश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री तामाङले हवाई टिकटको भ्याट र अन्य केही अनावश्यक कर हटाउने काम भइरहेको र यसको समाधान बजेट पास हुनु अगाडि नै गरिने बताएको उनको सचिवालयले जनाएको छ ।

हवाई टिकटको अनावश्यक भ्याट हटाउँदा पर्यटकलाई नेपालमा धेरै समय बस्न प्रोत्साहित हुने उनको भनाइ छ ।

प्रचण्ड नेतृत्वकै सरकारले गत वर्षको बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउने निर्णय गरेको थियो । उनले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गरि कम्तीमा १६ लाख पर्यटक भित्राइने समेत बताए ।

सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकोमा सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उनको दाबी छ । पर्यटन क्षेत्रले बेहोरिरहेको समस्या समाधान गर्न सरकार लागि परिरहेको समेत उनले दाबी गरे ।

विश्व पर्यटन बजारमा नेपाल घुम्नैपर्ने सूचीमा पर्ने हुँदा अब पुरानो गन्तव्य मात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएको नयाँ गन्तव्यमा पूर्वाधार निर्माणमा सरकार लागेको उनले बताए । प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्या बढाइने उनको भनाइ छ ।

पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने उनले बताए । नेपाल दुई ठूला छिमेकी मुलुक भारत र चीनका लागि आकर्षक पर्यटकीय गन्तव्य भएको उनले बताए ।

पर्यटन क्षेत्रको विकासले नै मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने उनको भनाइ छ । भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो २ दिनसम्म चल्नेछ ।

धेरै टिप्पणी गरिएका