जोडिनुहोस
  • होमपेज
  • सांसद शाहको भविष्यवाणी : तपाईंलाई ८४ सालको चुनाव एआईले हराइदिनेछ

सांसद शाहको भविष्यवाणी : तपाईंलाई ८४ सालको चुनाव एआईले हराइदिनेछ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले प्रविधिमा भएको विकासका कारण २०८४ सालको चुनावमा एआईले नेताको भाषण गरिदिने मात्रै नभई चुनाव हराउन पनि भूमिका खेल्न सक्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेट शीर्षक माथिको छलफलका क्रममा उनले आफ्नो क्षेत्रमा ५ लाख, १० लाख बजेट माग्ने सांसदहरूले २०८४ को चुनाव नजित्ने बताए ।

उनले भने– ‘आफ्नो जिम्मेवारीबाट विधायकी भूमिकाबाट अस्पष्ट भएको जस्तो भयो । कसले के गर्ने हो हामीले बुझाउन पनि सकेनौँ । माननीयज्यूहरूलाई दुई चार लाखको बजेट गाउँमा लगेर चुनाव जितौला भन्ने लागेको होला । तपाईंहरुलाई त्यस्तो लागिरहेको छ भने २०८४ मा तपाईंहरु चुनाव जित्नुहुन्न । शतप्रतिशत जित्नुहुन्न किनकि तपाईंलाई एआईले हराउँछ ।’

उनले अगाडि भने– ‘टेक्नोलोजी के हुँदैछ भन्ने विचार गर्नुस् । तपाईंले भाषण गर्नै पर्दैन, तपाईंको गलत भाषण गरेर एआईले हराइदिन्छ । आयोजना र बजेट भनेर धेरै नगर्दा पनि हुन्छ । तपाईंको डिफेक भिडियोहरू आउँछ । टेक्नोलोजीको च्यालेन्ज धेरै छ ।’

उनले आफू सानो छँदा बजेटमाथि छलफल हुँदा संसद् भवन भरी हुने तर अहिले बजेट माथिको छलफलमा हलमा सांसद नहुने अवस्था आएको बताए ।

सांसद शाहले रेडियो नेपालका पुराना सामग्रीलाई डिजिटाइजेशन गर्नका लागि बजेट राख्नु सकारात्मक रहेको बताए । उनले दोलखामा फिल्म सिटीको बजेट नराखेर सरकारले राम्रो काम गरेको बताए । उनले विदेशी चलचित्र निर्माताहरुलाई नेपालमा सुटिङका लागि आकर्षित गर्न नसकेको उल्लेख गरे । उनले चलचित्र विकास बोर्डलाई बजेट छुट्टाएकोमा असन्तुष्ट व्यक्त गर्दै नयाँ चलचित्र आयोग गठन गर्न माग गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका