जोडिनुहोस
  • होमपेज
  • विश्व रक्तदाता दिवस २०२४ सम्पन्न

विश्व रक्तदाता दिवस २०२४ सम्पन्न

‘रक्तदान उत्सवको दुई दशक, सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद’ नाराका साथ विश्व स्वास्थ्य संगठनले आह्वान गरे अनुरुप हिजो जुन १४ गते संसारभर नै विश्व रक्तदाता दिवस २०२४ भव्यरुपले सम्पन्न भएको छ ।

ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिको सभापतित्वमा र ब्लोदानका संरक्षक एवं बरिष्ठ संचार उद्यमी श्री भाष्करराज राजकर्णिकारको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमका अतिथिहरुमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष प्रा. डा. सुदर्शन प्रसाद नेपाल विशेष अतिथि, ब्लोदानका संस्थापक तथा वरिष्ठ सल्लाहकार श्री सूर्यकुमारी श्रेष्ठ अतिथि तथा जनस्वास्थ्य कार्यालय काठमाडौं का डा. अर्जुन प्रसाद सापकोटा, पूर्व प्रदेश सभासद श्री नरोत्तम बैद्य लगायत ब्लोदानका वरिष्ठ सल्लाहकारहरु, सल्लाहकारहरु, विभिन्न ब्लड बैंकका प्रमुखहरु, सहयोगी संस्थाका प्रमुखहरु हुनुहुन्थ्यो ।

साथै ब्लोदानका विभिन्न तहका पदाधिकारीहरु लगायत रक्तदाताहरु र रक्तदान गर्ने संघसंस्थाका प्रतिनिधिहरुको ब्यापक उपस्थितिमा सो समारोह सम्पन्न भएको छ । विश्व स्वास्थ्य संगठनले आह्वान गरे अनुरुप ब्लोदानले सन् २००४ देखि नै साप्ताहिक कार्यक्रम गर्दै यो दिवस मनाउँदै आईरहेको छ ।

यसै अनुरुप यस वर्षमा पनि विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै मिति २०८१ जेष्ठ २६ गते साइकल ¥याली, २७ गते हस्पिटलका प्रतिनितिहरु बिच अन्तक्रिया तथा २८ गते विद्यालयस्तरीय चित्रकला प्रतियोगिता तथा महिला अन्तक्रिया, २९ गते विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता र ३० गते बुधबार रक्तदान कार्यक्रम आयोजना गरी ३२ गते अर्थात १४ जुनका दिन काठमाडौंको नेपा बैंक्वेटमा एक समारोह गरी सम्पूर्ण रक्तदान गर्ने संघसंस्थाहरु र रक्तदाताहरुलाई धन्यबाद दिने कार्यक्रम सम्पन्न गरियो ।

उक्त कार्यक्रममा रक्तदाता अभिवृद्धि गर्न उत्प्रेरणा जगाउन विभिन्न विधा अन्तर्गतका १२ वटा रनिंग शिल्ड वितरण गरेको थियो भने विभिन्न २९ जना रक्तदाताहरुलाई पटकको आधारमा सिल्भर, गोल्डेन तथा डायमण्ड पीनले सम्मान गरेको थियो । त्यस्तै गरी ब्लोदानको आह्वानमा रक्तदान गरेका संस्थाहरुलाई तथा ब्लड फण्डमा सहयोग गर्नेलाई पनि सम्मान गरेको थियो ।

उक्त कार्यक्रममा ब्लोदानका उपाध्यक्ष श्री राजेश श्रेष्ठले स्वागत गर्नुभएको थियो भने केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिले कार्यक्रमबारे जानकारी गर्दै रक्तदान जस्ता महत्वपूर्ण कार्यमा सबैलाई सहकार्य गर्न आह्वान गर्नु भयो । त्यस्तै गरी ब्लोदानका संस्थापक तथा वरिष्ठ सल्लाहकार श्री सूर्यकुमारी श्रेष्ठले ब्लोदानले विगत लामो समयदेखि रक्तदानमा गरेको योगदानको चर्चा गर्नु भयो ।

त्यस्तै गरी पूर्व प्रदेश सभासद श्री नरोत्तम बैद्यले रक्तदान अभियान सफल पार्न सबै क्षेत्रको सहकार्य अपरिहार्य भएको बताउनु भयो भने नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष प्रा. डा. सुदर्शन प्रसाद नेपालले ब्लोदानले विगत लामो समयदेखि गर्दै आइरहेको स्वयंसेवी रक्तदान अभियानको प्रशंसा गर्दै रेडक्रसले यस्ता महान कार्यमा सहयोग तथा सहकार्य हुने बताउनु भयो ।

प्रमुख अतिथिको मन्तव्य राख्दै ब्लोदानका संरक्षक एवं वरिष्ठ संचार उद्यमी श्री भाष्करराज राजकर्णिकारले ब्लोदानले गर्दै आइरहेको कार्यको प्रशंसा गर्दै अझ सबै क्षेत्रसंग सहकार्य गरी बढी भन्दा बढी स्वस्फूर्त रक्तदान गराउने वातावरण बनाउन पर्ने र युवाहरुमा बढी भन्दा बढी रक्तदान सम्बन्धी उत्प्रेरणाका कार्यक्रमहरु लैजानु पर्ने धारणा राख्नु भयो । कार्यक्रम ब्लोदानका महासचिव श्री केशब महर्जनले संचालन गर्नु भएको थियो भने स्वागत मन्तव्य ब्लोदानका केन्द्रीय उपाध्यक्ष राजेश श्रेष्ठले गर्नुभएको थियो ।

धेरै टिप्पणी गरिएका