जोडिनुहोस
  • होमपेज
  • काठमाडौँमा चिनियाँ शैक्षिक प्रदर्शनी

काठमाडौँमा चिनियाँ शैक्षिक प्रदर्शनी

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली विद्यार्थीका लागि चीन प्रमुख गन्तव्य रहेको र त्यसले दुई देशको सम्बन्धलाई बलियो बनाएको बताएका छन् ।

नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले मंगलबार आयोजना गरेको एक दिवसीय चिनियाँ उच्च शैक्षिक प्रदर्शनी उद्घाटन गर्दै उनले चीनमा अध्ययन गरेका थुप्रै नेपालीले नेपालमा कुनै न कुनै पेसा गरेर विभिन्न क्षेत्रमा राम्रो योगदान दिइरहेको बताए ।

चीन सरकारले दिइरहेको छात्रवृत्तिका कारण यो सङ्ख्या अझै बढ्ने विश्वास व्यक्त गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ विश्वविद्यालयबाट शिक्षा प्राप्त गर्नेहरूले नेपालको विकासमा ठुलो योगदान दिने सक्ने विश्वास व्यक्त गरे ।

नेपाल र चीनका विभिन्न विश्वविद्यालयबिच सहकार्य भएको थाहा पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनले नेपालका विद्यार्थीहरू ठुलो सङ्ख्यामा चीनको भ्रमण गर्ने गरेको र त्यसले आफ्नो शैक्षिक आवश्यकताहरू पूरा गर्ने गरेको बताए ।चिनियाँ प्राध्यापकहरूले पनि नेपाल भ्रमण गर्ने गरेको भन्दै उनले त्यस्तो भ्रमणले जनता–जनताबिचको सम्बन्धलाई फराकिलो र गहिरो बनाएको चर्चा गरे ।

हरेक वर्ष चिनियाँ भाषाका स्वयंसेवी शिक्षकहरू पनि नेपाल आएर नेपालको शैक्षिक विकासमा योगदान दिएको उल्लेख गर्दै उनले यसले पनि दुई देशबिचको सम्बन्ध राम्रो बनाउने गरेको बताए । चीन नेपालको दीर्घकालीन विकास साझेदार रहेको उपप्रधानमन्त्री श्रेष्ठले जनाए । उनले नेपालको विकासमा चीन सरकार, चिनियाँ जनताको समर्थन र सहयोग रहेको बताए । नेपाललाई चीनको आर्थिक तथा प्राविधिक सहयोगले पूर्वाधार निर्माण, कनेक्टिभिटी, उद्योग स्थापना, जनशक्ति विकास, स्वास्थ्य, शिक्षा, जलस्रोत, खेलकुद लगायतका क्षेत्रमा ठुलो योगदान रहेको उनको भनाइ छ ।

त्यसमध्ये शिक्षा एक महत्त्वपूर्ण सहयोग रहेको उनले बताए । चीनले नेपाललाई छात्रवृत्ति कार्यक्रम, अल्पकालीन र दीर्घकालीन तालिम कार्यक्रम, भाषा केन्द्रित पहल, संस्थागत सहयोग आदि मार्फत सहयोग गर्दै आएको उनले चर्चा गरे । यी छात्रवृत्ति मार्फत ठुलो सङ्ख्यामा नेपाली विद्यार्थीले चीनमा उच्च शिक्षा हासिल गरिरहेको उनले बताए ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले यो प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको बताए । उनले यो प्रदर्शनीले नेपाल–चीनबिचको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

यो प्रदर्शनी नेपाल र चीनबिचको सबैभन्दा ठुलो उच्च शिक्षा सहयोग परियोजना रहेको बताउँदै उनले यसमा ३१ वटा विभिन्न चिनियाँ विश्वविद्यालय सहभागी रहेको बताए ।

यो प्रदर्शनीमा चिनियाँ शिक्षाको विविध र उच्च गुणस्तरको झलक प्रदान गर्ने विश्वास समेत उनले व्यक्त गरे । यसको फाइदा लिन उनले सबैमा आग्रह पनि गरे । परराष्ट्रमन्त्री श्रेष्ठ र राजदूत सोङले संयुक्त रुपमा उद्घाटन गरेको सो प्रदर्शनीमा चीनका विभिन्न सहरमा रहेका चीन र विश्वमै अब्बल ठहरिएका ३१ वटै विश्व विद्यालयका स्टल छन् । ती स्टलमा नेपाली विद्यार्थी र तिनका अभिभावकहरूलाई विस्तृत रूपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्ति लगायतका विभिन्न जानकारी गराउने परिषद्का अध्यक्ष डा.हरिश्चन्द्र साहले बताए ।

परिषद्ले डेढ दशकभन्दा लामो समयदेखि चिनियाँ शैक्षिक मेला सफलतापूर्वक आयोजना गर्दै आएको छ । पहिलो चिनियाँ शैक्षिक प्रदर्शनी सन् २००३ मा आयोजना गरिएको थियो । पछिल्लो जानकारी अनुसार चीनमा १६० वटा देशका पाँच लाख विद्यार्थी विभिन्न विषयमा अध्ययनरत छन् ।

प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २०० भन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको परिषद्का अध्यक्ष साहले बताए । प्रत्येक वर्ष छात्रवृत्तिबाहेक स्वयं लगानी गरेर विद्यार्थीहरू चीन पढ्न जान थालेको उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका