जोडिनुहोस
  • होमपेज
  • मोरङमा एमालेको कारबाहीमा परे जिल्ला अध्यक्षका आकांक्षी

मोरङमा एमालेको कारबाहीमा परे जिल्ला अध्यक्षका आकांक्षी

विराटनगर । नेकपा एमालेको विराटनगर महानगरपालिका कमिटीका अध्यक्ष सागर थापा कारबाहीमा परेका छन् ।

पार्टी हित विपरीत काम गरेको आरोप लगाएर एमालेको मोरङ जिल्ला कमिटीले थापाको जिम्मेवारी खोसेको हो ।

थापा २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट विराटनगरको मेयरको उम्मेदवार थिए । दुई पटक विराटनगर महानगर कमिटी अध्यक्षको जिम्मेवारीमा रहेका थापा मंसिरमा हुने एमालेको जिल्ला अधिवेशनमा अध्यक्षको आकांक्षी हुन् ।

अधिवेशनको पूर्वसन्ध्यामा मानगढ खानेपानी आयोजनाको उपभोक्ता समितिको निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको भन्दै जिल्ला कमिटीले थापाको जिम्मेवारी खोसेको हो ।

खानेपानी उपभोक्ता समितिको अध्यक्षमा एमाले मोरङ जिल्ला अध्यक्ष तथा सांसद ऋषिकेश पोखरेल र अधिवेशन आयोजक कमिटी संयोजक बाबुराम कार्कीको समर्थन रामबहादुर घिमिरेलाई थियो । घिमिरे २६ वर्षदेखि खानेपानी उपभोक्ता समितिको अध्यक्ष छन् । पछिल्लो पटक खानेपानी उपभोक्ता समितिका लागि ४१ लाख रुपैयाँ पर्ने जग्गा ८४ लाख रुपैयाँमा खरिद गरेको विवादमा उनी मुछिएका छन् ।

खानेपानी उपभोक्ता समितिको निर्वाचनमा विराटनगर महानगर कमिटीको समर्थन भने अर्का उम्मेदवार लालमणि भट्टराईलाई थियो ।

१९ जेठमा सुरु भएको मतदानका क्रममा विवाद भएपछि भोलिपल्टका लागि मतदान सारिएको थियो । त्यस क्रममा निर्वाचन समितिका सदस्यहरुले राजीनामा दिएका थिए । निर्वाचन समितिले राजीनामा दिएपछि खसेको मत गणना गर्ने कि पुनः मतदान गर्ने भन्ने विवाद उच्च अदालत विराटनगरमा पुगेको छ ।

त्यसपछि एमाले जिल्ला कमिटीले महानगर कमिटी अध्यक्ष सागर थापा, नगर उपसचिव नवराज नेपाल र वडा नम्बर ३ का अध्यक्ष समेत रहेका अध्यक्षका उम्मेदवार लालमणि भट्टराईको जिम्मेवारी खोसेको छ ।

पार्टीभित्रको गुटगत विवाद र जिल्ला अध्यक्षमा दाबी गरेका कारण थापालाई उम्मेदवार नै बन्न नपाउने गरी कारवाही गरिएको एमाले नेताहरु बताउँछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका