काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।
सांसद खानले सो मन्त्रालयको बजेट नेतामुखी भएकाले पनि त्यसलाई पुनर्लेखन गरेर अघि बढाउन उपयुक्त हुने सुझाव भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई दिए । केही क्षेत्र र केही जिल्लाहरूमा मात्रै बजेट सीमित गराउने काम मन्त्रीहरूले गर्न नहुने उनको भनाइ थियो । राष्ट्रिय योजना आयोगको अदूरदर्शी सोचका कारण मुलुकको विकास निर्माणको काममा सुधार हुन नसकेको जिकिर पनि गरे ।
उनले भने, “भौतिक पूर्वाधारमन्त्रीज्यूलाई के भन्न चाहन्छु भने, भौतिक पूर्वाधारको बजेट नेतामुखी भएको देखिन्छ । केही क्षेत्र र केही जिल्लाहरूमा सीमित देखिन्छ । तसर्थ भौतिक पूर्वाधारको बजेट पुनर्लेखन गरौँ माननीय मन्त्रीजी । यसरी भएन । राष्ट्रिय योजना आयोगको अदूरदर्शी सोच र अपर्याप्त अन्वेषण, अनुसन्धानको कमीको कारणले व्यवहारिक र देशमा संरचनागत सुधार भइराखेको छैन ।”
सांसद खानले योजना आयोगले देशमा रुपान्तरण गर्ने खालको योजनालाई प्राथमिकतामा राखेर सोही अनुसारको कार्यक्रम ल्याउन नसकेको दाबी समेत गरे ।