जोडिनुहोस
  • होमपेज
  • दुग्ध किसानको रकम छिट्टै भुक्तानी होस् : सांसद बर्तौला

दुग्ध किसानको रकम छिट्टै भुक्तानी होस् : सांसद बर्तौला

काठमाडौंं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले दुग्ध किसानको भुक्तानी छिट्टै दिन माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै त्यस्तो माग गरेका हुन् । “राज्यको तर्फबाट वातावरण बनाइदिएर निजी डेरीको तर्फबाट किसानहरूले पाउनुपर्ने दूधको भुक्तानी वक्यौता अविलम्ब प्राप्त होस् । भुक्तानी गरियोस्,” उनले भने ।

उनले आज बिहान दुग्ध विकास संस्थान, लैनचौरको गेटमा धर्ना बसेका ४५ भन्दा बढी किसानलाई प्रहरीले गिरफ्तार गरेको बताए । उनीहरूलाई कालीमाटी हिरासतमा राखिएको र भेट्दा मर्यादित व्यवहार नगरेको गुनासा आफूलाई सुनाएको बताए ।

किसानहरूको माग जायज रहेको बर्तौलाले बताए । “किसानहरूको माग जायज छ । उहाँहरूले सरकारलाई निजी डेरीलाई दूध बेच्नुभयो । दूध बेचेको रकम भुक्तानी गर्नका लागि आन्दोलन गर्नुपर्ने परिस्थितिमा किसान पुगे,” उनले भने, “डीडीसीबाट र सरकारबाट झन्डै दुई अर्ब रकम प्राप्त गर्नुपर्नेछ । निजी डेरीबाट झन्डै तीन अर्ब भुक्तानी लिनुपर्नेछ ।”

बर्तौलाले किसानको सामाजिक कर्म प्रभावित हुने अवस्थामा पुगेको बताए । उनले कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराए । आन्दोलनमा आएका किसानको जायज माग सम्बोधन गर्न आग्रह गरे ।

धेरै टिप्पणी गरिएका