जोडिनुहोस

एसईइई कप शनिबारदेखि हुने

काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसईई कप २०२४’ शनिबारदेखि हुने भएको छ । यसमा यो वर्ष एसईई दिएका करिब एक सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

तीन दिने प्रतियोगिता गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतलीस्थित हलमा हुने हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूले बताइन् । उनका अनुसार प्रतियोगिता ओपन र गल्र्स गरी दुई क्याटागोरीमा सञ्चालन गरिने छ । जसमा विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार र ३ हजार रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र दिइने छ ।

प्रतियोगिताका शीर्ष तीन खेलाडीलाई गोल्डेटगेट इन्टरनेसनल कलेजले छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ । कलेजकी निर्देशक सैल सुमन सिलवालका अनुसार जुनसुकै विषयमा पनि विजेतालाई पूर्ण छात्रवृत्ति दिइने छ भने उपविजेताले ७५ प्रतिशत र तेस्रो हुने खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।

फागुन २०८० देखि सञ्चालनमा आएको हिमालयन चेस एकेडेमीले अहिले ५ वर्षदेखि १३ वर्षसम्मका ५० जनाभन्दा बढी बालबालिकालाई चेसको प्रशिक्षण दिइरहेको छ । एकेडेमीकी अध्यक्ष खम्बूले भनिन्, ‘एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगिता हो एसईई कप । गोल्डेनगेटले पहिला पनि यस्ता प्रतियोगिता दुईपल्ट गरेको थियो । आगामी दिनमा यसलाई अझै वृहत् बनाउने छौं ।’

‘हामीले चेससहित धेरै खेलमा विद्यार्थीलाई छात्रवृत्ति दिइरहेका छौं । यसैलाई एसईई कपमा निरन्तरता दिंदैछौं,’ गोल्डेनगेटकी निर्देशक सिलवालले भनिन् । चेसका राष्ट्रिय च्याम्पियनहरू मोनालिशा खम्बू, तारा घले, बिना जैयसवाल, मदनकृष्ण कायस्थ, रुपेश जैयसवाल लगायतले छात्रवृत्तिमै गोल्डेनगेटमा अध्ययन गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका