जोडिनुहोस
  • होमपेज
  • नेपाली परम्परागत खानालाई विश्वमाझ पुर्याउनुपर्छ : उपसभामुख राना

नेपाली  परम्परागत खानालाई विश्वमाझ पुर्याउनुपर्छ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपाली परम्परागत खानालाई विश्वमाझ पुर्याउनुपर्ने बताएकी छन् । ग्यास्टोनोमी टुरिजम एशोसिएसन अफ नेपालको चौथो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘सन् २०२५ मेमा सगरमाथा आधार शिविरमा विश्व सेफ्स सम्मेलन’ घोषणासभामा उनले नेपाली खानालाई विश्वमाझ लगेर नेपालको पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएकी हुन् ।

“स्वदेशमा उत्पादित परम्परागत खानालाई सरकारले प्रोत्साहन र प्रवर्द्धन गर्नुपर्छ, नेपाली परम्परागत खानालाई विश्वमाझ फैलाउनुपर्छ”, उनले भनिन् । उपसभामुख रानाले जलवायु परिवर्तनको असर नेपाली परम्परागत खाना उत्पादनमा परेको उल्लेख गरिन् । परम्परागत खानालाई प्रवर्द्धन गर्न सरकारलाई निजी क्षेत्रको साथ आवश्यक रहेको उनको भनाइ थियो ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले परम्परागत खाना प्रवर्द्धनका लागि बूढानीलकण्ठ नगरपालिका लागेको बताए । उनले नेपाली खानामार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएसन अफ नेपालको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले नेपाली खानामार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि हानले काम गरिरहेको बताए । नेपालका पाँच हजारभन्दा बढी होटल नेपाली परम्परागत खाना प्रवर्द्धनमा जुटेको उनको भनाइ छ । अध्यक्ष शाहले पर्यटन दशकको समयमा सगरमाथा आधार शिविरमा सेफ्स सम्मेलन गरेर विश्वलाई सकारात्मक सन्देश दिन खोजेको भन्दै एशोसिएसनलाई धन्यवाद दिए ।

ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष खुमबहादुर सुवेदी, रजनी फाउण्डेशनका अध्यक्ष रजनी थापा, वरिष्ठ सेफ्स अर्जुनबहादुर थापालगायतले देश र विदेशमा नेपाली खाना प्रवर्द्धनका लागि नेपाली सेफ्सहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

एशोसिएसनका संस्थापक अध्यक्ष सुरेशचन्द्र बस्नेतको संयोजकत्वमा सन् २०२५ को मेमा सगरमाथा आधार शिविरमा विश्व सेफ्स सम्मेलन गरिने घोषणा कार्यक्रममा गरिएको थियो । विसं २०७६ मा स्थापना भएको एशोसिएसनले नेपाली परम्परागत खानालाई देश, विदेशमा प्रचार गर्दै आइरहेको अध्यक्ष रमेश भण्डारीले जानकारी दिए ।

धेरै टिप्पणी गरिएका