जोडिनुहोस
  • होमपेज
  • सरकारले ११७ विधेयकलाई अगाडि बढाउन लागेको छ : मन्त्री गिरी

सरकारले ११७ विधेयकलाई अगाडि बढाउन लागेको छ : मन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले ११७ विधेयकलाई संघीय संसद्‌बाट अगाडि बढाउने तयारी गरिरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री गिरीले सरकारले संघीय संसद्‌मा पेस गर्ने कानुनहरूको प्राथमिकीकरण गरेको जानकारी दिए । सरकारले ६३ विधेयकहरूलाई पहिलो प्राथमिकतामा, ३९ विधेयकहरूलाई दोस्रो प्राथमिकतामा र १५ विधेयकहरूलाई तेस्रो प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

“अहिले मन्त्रालयले संघीय संसदमा पेस गर्ने विधेयकहरुको प्राथमिकीकरण गरेका छौँ । प्राथमिकीकरण गर्ने काम पनि कानुन मन्त्रालयको तर्फबाट भइसकेको छ । त्यसमा ६३ वटा विधेयकलाई पहिलो प्राथमिकतामा राखेका छौँ । ३९ वटा विधेयकहरू दोस्रो प्राथमिकतामा परेका छन् । तेस्रोमा १५ वटा विधेयकहरू परेका छन् । यसो गर्दा ११७ वटा विधेयकहरुलाई अब अगाडि बढाउनेगरी आवश्यक कामहरू अगाडि बढिराखेको छ,” मन्त्री गिरीले भने ।

मन्त्री गिरीले नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा संघीय संसद्‌मा दर्ता गर्न लागेको जानकारी दिए । उनले संविधानको प्रावधानभित्र रहेर न्यायाधीशहरू नियुक्त गरिएको भन्दै न्यायाधीश नियुक्तिमा आशंका नगर्न आग्रह गरे । उनले न्याय सम्पादनलाई छिटो, छरितो र पारदर्शी बनाउन अदालतमा केही सुधार गर्नुपर्ने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका