समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गर्ने निर्णय भएको छ । यसअघि कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय आज बिहीबार बसेको परिषद् बोर्ड बैठकले अनुमोदन गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा परिषद्का अध्यक्ष भगवती चौधरीको अध्यक्षतामा बसेको बैठकले कार्यक्षेत्र प्रदेश तहमा विस्तार गर्नेसम्बन्धी निर्णय गरेको परिषद्ले जानकारी दिएको छ । परिषद्का अनुसार सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने कार्य अगाडि बढाइएको हो । उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोली समेत खटाएको छ । बैठकले परिषद्लाई थप व्यवस्थित गर्न डिजिटलाइजेशनमा लैजाने प्रक्रिया समेत अघि बढाउने निर्णय गरेको छ । मन्त्री चौधरीको पहलमा परिषद्को कामकारबाही थप व्यवस्थित गर्न डिजिटलाइजेनशमा लैजान यसअघि परिषद्लाई निर्देशन दिएकी थिइन् । बैठकले परिषद्का पदाधिकारीहरूको कार्य विभाजन समेत परिवर्तन गरेको छ । जसअनुसार अध्यक्ष र सदस्यसचिवमा निहित अधिकारहरू उपाध्यक्ष, कोषाध्यक्ष र बोर्डका सदस्यहरूलाई अधिकार प्रत्यायोजन गर्नेगरी प्रक्रिया अगाडि बढाएको छ ।