जोडिनुहोस
  • होमपेज
  • साताको सेयर बजार : लगानीकर्ताको सम्पत्ति करिब ७० अर्बले घट्यो

साताको सेयर बजार : लगानीकर्ताको सम्पत्ति करिब ७० अर्बले घट्यो

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सेयर कारोबार घट्दा लगानीकर्ताको सम्पत्ति (कुल बजार पुँजीकरण) समग्रमा करिब ७० अर्ब रुपैयाँले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार गत साताको तुलनामा कुल बजार पुँजीकरण ६९ अर्ब ७३ करोड ८६ लाख रुपैयाँले घटेको छ ।

यो साताको अन्तिम कारोबार दिन कुल बजार पुँजीकरण ३२ खर्ब ७९ अर्ब ७३ करोड रुपैयाँ छ । गत साताको अन्तिम कारोबार दिन कुल बजार पुँजीकरण ३३ खर्ब ४९ अर्ब ४७ करोड रुपैयाँ कायम थियो ।

कुल बजार पुँजीकरण धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूको प्रतिसेयर मूल्यले कम्पनीको कुल सेयरलाई गुणा गरेर निकालिन्छ । कम्पनीको सेयर मूल्य जति धेरै बढ्यो कुल बजार पुँजीकरण पनि बढ्दै जान्छ । धितोपत्र बजार उच्च विन्दुमा हुँदा कुल बजार पुँजीकरण ४४ खर्बसम्म पुगेको थियो ।

यो साता चार दिन मात्र सेयर कारोबार भएको थियो । चार दिनमा १६ अर्ब ८० करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको हो । यो साताको चार कारोबार दिनमा तीन कारोबार दिन बजार घटेको छ भने बुधबार भने बढेको थियो ।

यो साता समग्रमा बजार ४३.९७ अंकले घटेको छ । नेप्सेका अनुसार गत साता बजार ३४.५१ अंकले बढेको थियो । गत साताको अन्तिम कारोबार दिन २११२.२९ विन्दुमा रोकिएको नेप्से यो साताको अन्तिम कारोबार दिन बिहीबार २०६८.३१ विन्दुमा पुगेर बन्द भएको छ ।

यो साताको आइतबार बजार १७.०४ अंकले घटेको छ भने मंगलबार १८.७६ अंकले घटेको छ । सोमबार भने सरकारी बिदा भएकाले बजार बन्द थियो । बुधबार झिनो अंकले बढेको बजार बिहीबार भने १०.४४ अंकले घटेको छ ।

गत साताको आइतबार र बिहीबार भने बजार घटेको थियो । सोमबार ८.९ अंक, मंगलबार ३३.१५ अंक र बुधबार ६.३७ अंकले नेप्से परिसूचक बढेको थियो । गत साताको आइतबार बजार ४.५९ अंकले घटेको थियो भने बिहीबार ९.३२ अंकले बजार घटेको थियो ।

गत साताको तुलनामा यो साता कारोबार रकम ११ अर्ब ७६ करोड ९० लाख रुपैयाँले घटेको छ । यो साताको चार कारोबार दिनमा १६ अर्ब ८० करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत साताको पाँच कारोबार दिनमा २८ अर्ब ५७ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका