जोडिनुहोस
  • होमपेज
  • आर्थिक वृद्धिदर सात प्रतिशतसम्म पुर्‍याउन सकिन्छ : अर्थसचिव मरासिनी

आर्थिक वृद्धिदर सात प्रतिशतसम्म पुर्‍याउन सकिन्छ : अर्थसचिव मरासिनी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृृद्धिदर सात प्रतिशतसम्म पुर्‍याउन सकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

मरासिनीले भने, “पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर सात प्रतिशतसम्म पुर्‍याउन सकिन्छ, हामीले ६ प्रतिशतको मात्रै लक्ष्य राखेका छौँ, त्योभन्दा पनि बढी हाँसिल गर्ने गरि काम गर्न सकिने स्थिति बनिरहेको छ ।”

उनले अहिले अर्थतन्त्र सही मार्गमा अघि बढेको र आर्थिक गतिविधि बढ्ने स्थिति बनिसकेको बताए । तर, त्यसलाई तीव्रता दिन र अर्थतन्त्रमा चाँडो सुधार ल्याउन हाल चलिरहेको भाष्यमा सुधार ल्याउन आवश्यक रहेको उनले बताए ।

अर्थसचिव मरासिनीले भने, “यो भाष्यलाई परिवर्तन गर्नुपर्छ, अर्थतन्त्र कन्फिडेन्सले पनि चल्ने हो । मुहार हेरेर पनि कारोबार गर्नुपर्ने अवस्था आउन सक्छ । बैंकर साथीहरूले पनि यो विषयमा मनन गर्नुपर्छ ।”

यस्तै, उनले पछिल्ल्लो समय बैंकका लिलामीका सूचना देख्दा दुःख लाग्ने गरेको बताए । यो समस्याको समाधानका लागि सबैको सहकार्यमार्फत् अगाडि बढ्नु पर्ने उनको भनाइ छ । यस्तै, उनले प्रतिव्यक्ति आयको हिसाबमा एसियामा नेपाल केही पछाडि भए पनि वित्तीय स्थिरता तथा आधारभूत सूचकहरूमा अन्य देशको तुलनामा अगाडि नै रहेको धारणा राखे । उनले पछिल्लो समय अधिकांश मानिसले बजेटको भन्दा मौद्रिक नीतिमाथि विश्वास गर्दा चिन्ता र चुनौती पनि थपिएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका