जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीलाई गगनको सुझाव : मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्ने

प्रधानमन्त्रीलाई गगनको सुझाव : मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्ने

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नटेर्ने अहिलेका मन्त्रीहरू फेर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन् ।

नटेर्ने मन्त्री फेर्न नसक्ने हो भने प्रधानमन्त्री स्वयमले बालुवाटारबाट डेरा सर्न उचित हुने सुझाव पनि उनले दिएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै थापाले प्रचण्डलाई सरकारको काम र भूमिकामा प्रश्न उठाएका हुन् ।

‘समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक हो भने संघीय सरकारको संवैधानिक दायित्व हो । तर, संघीय सरकारले स्थानीय सरकारलाई दिने यो जिम्मेवारीको कुरा बकस दिएको जस्तो गरि आएको छ, मानौं यो तजबिजी अधिकार हो । यसपालि पनि यस्तै भयो’, उनले भने, ‘अहिले आएर सरकारले निर्णय गर्‍यो भन्ने सुनियो । तर, अनुदान ७ प्रतिशत घटाउने भन्ने पनि सुनियो । वडाको क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने ? अनि स्रोत छैन भनेर अनुदान कटौती गर्ने ? यो स्वीकार्न सकिँदैन, यो निर्ओय असंवैधानिक पनि छ ।’

सांसद थापाले यही विषय स्थानीय तहका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको पनि सम्झाए । स्थानीय सरकारका प्रमुखहरूले अनुदान शय प्रतिशत नै चाहिने कुरा राख्दा प्रधानमन्त्रीले आफूले त मन गरेको तर मन्त्रीले मानेनन् भनेको कुरा थापाले उल्लेख गरे ।

उनले नटेर्ने मन्त्रीहरू फेर्न पनि प्रधानमन्त्री दाहाललाई सुझाव दिए । ‘प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो यो त संसदीय व्यवस्था हो । यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने । फेर्न नसक्ने हो भने बालुवाटारबाट आफैँ डेरा सर्ने ।’

धेरै टिप्पणी गरिएका