जोडिनुहोस
  • होमपेज
  • इरानमा बन्धक पाँच चेलीको उद्धार गर्न सांसद पौडेलको माग

इरानमा बन्धक पाँच चेलीको उद्धार गर्न सांसद पौडेलको माग

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रमा कोइराला (पौडेल) ले इरानमा बन्धक बनाइएकी पाँच नेपाली महिलाको उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले पाँच महिनादेखि पाँच जना नेपाली महिला इरानमा बन्धक रहेको बताइन् ।

‘इरानमा अहिले पनि ५ जना हाम्रा चेलीहरू पाँच महिनादेखि बन्धक भनेर समाचार आएको छ । अब कति दिन महिलालाई अवैधानिक बाटोबाट इरान पठाएर काम गर्न लाउने हो (श्रम) मन्त्रीज्यू ? कति दिन उनीहरूको श्रम शोषण गर्ने हो, कति दिन उनीहरूको शारीरिक शोषण गर्ने हो ?,’ उनको प्रश्न छ, ‘अब सोच्ने बेला आइसकेको छ । बन्धक भएका पाँच जना दिदी बहिनीको तत्काल उद्धार गरी नेपाल ल्याउन माग गर्दैछु ।’

मन्त्री भनेको कुर्सीमा बस्न मात्रै होइन भन्दै हरेक समस्याको समाधान गर्नका लागि भएको उनको भनाइ थियो । श्रममन्त्री डोलप्रसाद अर्याललाई लक्षित गर्दै सांसद पौडेलले म्यानपावर कम्पनीको मालिक श्रममन्त्री हुन नसक्ने बताइन् ।

‘त्यसैले म्यानपावर कम्पनीको मालिक मन्त्री हुन सक्दैन । श्रम मन्त्रालय भनेको श्रमिकको हो । श्रमिकको हितमा काम गर्न सुरु गर्नुहोस् ,’ उनले भनिन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका