जोडिनुहोस
  • होमपेज
  • नेपालगञ्जको बजेट एक अर्ब ५० करोड

नेपालगञ्जको बजेट एक अर्ब ५० करोड

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि कूल एक अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आय तथा व्ययसहितको बजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुरु भएको उमहानगरपालिकाको १५औँ अधिवेशनमा उपप्रमुख कमरुद्धिन राईले आगामी आवका लागि बजेट प्रस्तुत गरेका हुन् । आगामी आवका लागि विनियोजित बजेट चालु आवको भन्दा करिब ३५ करोड कम हो ।

प्रस्तावित बजेटमा आम्दानीतर्फ संघका तर्फबाट ससर्त अनुदान ६१ करोड २४ लाख ७७ हजार, समपूरक अनुदान एक करोड र विशेष अनुदान एक करोड ५० लाख विनियोजन गरिएको छ । त्यस्तै, प्रदेशका तर्फबाट ससर्त अनुदान दुई करोड चार लाख, समपूरक अनुदान रु एक करोड ४० लाख रहेको छ ।

वित्तीय समानीकरण संघको २७ करोड ९५ लाख, प्रदेशको दुई करोड पाँच लाख तथा आन्तरिक आयतर्फ २० करोड ११ लाख संकलन गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै राजस्व बाँडफाँड, राजस्व बाँडफाँड रोयल्टी, घर जग्गा रजिष्ट्रेसन (मालपोत), आन्तरिक आय, आन्तरिक आय (मौज्दात)लाई उपमहानगरपालिकाले कूल आम्दानीका रुपमा उल्लेख गरेको छ ।

व्ययतर्फ चालु खर्च रु ३५ करोड ५२ लाख, संघ समपूरक खर्च रु एक करोड, प्रदेश समपूरक खर्च एक करोड ४० लाख, अन्य समपूरक ७५ लाख, २३ वडा कार्यालयका लागि २० करोड विनियोजन गरिएको बजेट वक्तव्यमार्फत उपप्रमुख राईले जानकारी दिए। त्यसबाहेक वित्तीय व्यवस्था (सावा), वित्तीय व्यवस्था ब्याज भुक्तानी, नगरस्तरीय प्रवर्द्धनात्मक, विषयगत शाखा उपशाखालगायत शीर्षकमा बजेट विनियोजन गरिएको छ ।

उपमहानगरले निर्माण गरेको स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न, विद्यालय अनुगमन, खेलकुद कार्यक्रममा जोड दिँदै करको दरभन्दा दायरालाई फराकिलो पारी आन्तरिक आय वृद्धि गर्ने नीतिअनुरूप राजस्वको दायरामा नआएका क्षेत्रलाई ल्याउने गरी बजेट विनियोजन गरिएको उपप्रमुख राईले बताए । उनले समग्र नगर विकासका लागि आर्थिक, पूर्वाधार, सामाजिक, वन तथा वातावरण, विपद् व्यवस्थापन, संस्थागत सुशासन लगायतका विषयलाई बजेटले समेटेको बताए।

धेरै टिप्पणी गरिएका