जोडिनुहोस
  • होमपेज
  • वैदेशिक ठगीमा ७ वर्ष जेल बसेर छुटेका पुरुष मानव बेचबिखन मुद्दामा पक्राउ

वैदेशिक ठगीमा ७ वर्ष जेल बसेर छुटेका पुरुष मानव बेचबिखन मुद्दामा पक्राउ

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा ७ वर्ष जेल सजाय काटेर जेलबाट छुटेका व्यक्ति मानव बेचबिखनमा संलग्न भएको खुलेको छ।

वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेर निस्किएका ललितपुरका ४२ वर्षीय मनोज महर्जनलाई प्रहरीले महिलालाई दुबई लगेर बेचेको आरोपमा पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको बहानामा दुबई पुर्‍याई एकजना महिलालाई उनले बेचेको खुलेको छ । ललितपुर महानगरपालिका-८ बस्दै आएका ४२ वर्षीय महर्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनलाई गौशालाबाट पक्राउ गरेर हिरासतमा लिएको हो ।

उता उनले दुबई लगेर बेचिएकी पीडितलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले सम्बन्धित निकायको समन्वय र सहकार्यमा दुवईबाट गत चैत १९ गते नै उद्धार भइसकेको छ । अनुसन्धानका क्रममा महर्जनले पीडितलाई आकर्षक तलबमा दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाइदिने भनेर बेचिदिएका थिए । उनले २ लाख ९० हजार रूपैयाँ लिई २०८० फागुन ७ गते दुबईमा पुर्‍याएका थिए ।

त्यहाँ उनलाई घरेलु कामदार पठाउने एजेन्टको कार्यलयमा लगी बेचबिखन गरिदिएका थिए । त्यसपछि ती एजेन्टले एउटा घरमा बेचिदिएपछि शारीरिक तथा मानसिक यातना दिई बिनापारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा खटाएको अनुसन्धानबाट खुलेको छ ।

उनलाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका