जोडिनुहोस
  • होमपेज
  • अफगानिस्ताका कप्तान राशिद खानले गरे नेपालको प्रशंसा

अफगानिस्ताका कप्तान राशिद खानले गरे नेपालको प्रशंसा

काठमाडौं । अफगानिस्तानका कप्तान राशिद खानले विश्वकपमा नेपाली क्रिकेट टिमले गरेको प्रदर्शनको प्रशंसा गरेका छन् । मंगलबार बिहान भएको खेलमा बंगलादेशविरुद्ध डकवर्थ लेविस पद्दति (डीएलएस)अनुसार आठ रनको जितसहित सेमिफाइनलमा प्रवेश गरेपछि पत्रकार सम्मेलनमा नेपालको प्रशंसा गरेका हुन् ।

“पक्कै पनि विश्वकपमा नेपालको प्रदर्शन हेर्दा आनन्द महसुस हुन्थ्यो । उनीहरूले सबै प्रतिद्वन्द्वीविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । ट्वान्टी–२० क्रिकेट यस्तै नै हो । सबै टिमलाई हराउन सक्छौँ भन्ने आत्मविश्वास हुनुपर्छ । हामी परिस्थितिलाई सामान्य राख्दै सही समयमा सही कार्य गर्ने प्रयास गर्नेछौँ । मलाई लाग्छ उनीहरूले पनि त्यस्तै गरे । उनीहरूले टिमको योजनालाई कार्यान्वयन गर्ने प्रयास गरे,” उनले भने ।

१० वर्षपछि विश्वकपमा छनोट भएको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा थियो । प्रतियोगिताका चार खेलमध्ये तीन खेलमा हार व्यहोरे पनि नेपालले सबै खेलमा विपक्षी टिमलाई दबाबमा राख्न सफल भएको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध एक रनले मात्र निराश बनेको नेपालले चौथो खेलमा पनि बंगलादेशसँग २१ रनको हार व्यहोरेको थियो । नेपालले प्रतियोगिताको दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्ने तालिका थियो । तर, वर्षाका कारण खेल सम्भव नभएपछि दुवै टिमले समान एक–एक अंक बाँडेका थिए ।

अफगानिस्तानले सन् २००१ मा मात्र आईसीसीबाट एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । सन् २०१७ मा आईसीसीको पूर्ण सदस्य बनेको अफगानिस्तानले अब फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ । यो खेल ट्रिनिडाडमा बिहीबार हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका