जोडिनुहोस
  • होमपेज
  • साउनदेखि सिंहदरबारको गेट पास अनलाइनबाटै लिनुपर्ने

साउनदेखि सिंहदरबारको गेट पास अनलाइनबाटै लिनुपर्ने

काठमाडौं । आगामी साउनदेखि सिंहदरबार प्रवेशको लागि विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पासहरू खारेज हुने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ अर्थात् आगामी साउनदेखि ई–गेटपास प्रणाली प्रयोगमा ल्याउने निर्णय गरेको छ ।

६ असारमा बसेको सचिव बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पासहरू खारेज गरेर ई–गेटपास प्रणाली प्रयोगमा ल्याउने गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको छ । ई–गेटपास प्रणाली अनलाइनबाट सिंहदरबार छिर्ने गेट पास लिने प्रणाली हो । यसअनुसार अहिले फोन गरेर पनि माग्न सकिने सिंहदरबारको पास साउनदेखि अनलाइनबाटै लिनुपर्ने व्यवस्था हुने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई अहिले पनि ई–गेट पास प्रणाली प्रयोगमा रहेको र आगामी साउनदेखि थप प्रभावकारी बनाउन लागिएको बताउँछन् । ‘अस्थायी पासहरु हटाएर ई–गेट प्रणालीबाटै पास दिने व्यवस्था गर्न लागेका हौं,’ उनले भने ।

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा सर्वसाधारणहरू प्रवेश गर्न सम्बन्धित निकायले गेट पासको अनुमति दिनुपर्ने अवस्था छ । अहिले गृह मन्त्रालयले क्यूआर कोडसहितको गेट पासको व्यवस्था गरेको छ ।
‘सिंहदरबार पास’ वेबसाइटमा गएर अकाउन्ट बनाउने र युजर आईडी र पासवर्ड राखेर पासका लागि अनलाइनबाट अनुरोध गर्ने प्रणाली बनाइएको छ ।

गेट पास पाउन आधारभूत विवरण भर्नुपर्ने हुन्छ । आफू जाने निकायको नाम, मिति, समय लगायतकाको विवरण भरेर ‘सब्मिट’ गरेपछि एक दिन, तीन महिना वा अस्थायी ई गेटपासका अनुरोध गर्न सकिने व्यवस्था छ । ड्यासबोर्डमा आफूले अनुरोध गरेको पासको अवस्थाबारे जानकारी पाउन सकिन्छ ।

सम्बन्धित मन्त्रालयले पास स्वीकृत गरेपछि क्यूआर कोड पाइन्छ । सोही क्यूआर कोड सिंहदरबार गेटमा प्रवेश गर्दा देखाउनुपर्ने व्यवस्था छ ।

धेरै टिप्पणी गरिएका