जोडिनुहोस
  • होमपेज
  • कैलालीका स्वास्थ्यकर्मीले पाएनन् नौ महिनादेखि तलब

कैलालीका स्वास्थ्यकर्मीले पाएनन् नौ महिनादेखि तलब

काठमाडौं । कैलालीको केही पालिकामा कार्यरत स्वास्थ्यकर्मीले नौ महिनादेखि तलब नपाएको बताएका छन् । दरबन्दीभन्दा बाहेकमा कार्यरत स्वास्थ्यकर्मीले नौ महिनादेखि तलब नपाएको भन्दै समयमा नै रोकिएको उक्त तलब पाउनुपर्ने उनीहरुको माग रहेको छ । जानकी गाउँपालिकामा कार्यरत २० जना स्वास्थ्यकर्मी दरबन्दीभन्दा बढी कार्यरत रहेको सङ्घीय सरकारबाट उपलब्ध गराउनुपर्ने तलब भत्तावापतको रकम उनीहरले नपाएको उनीहरुको भनाइ छ ।

स्वास्थ्यका कर्मचारीका लागि गाउँपालिकामा रु एक करोड १४ लाख रकम मात्रै आएको जनाउँदै स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले कर्मचारीको तलबभत्ताका लागि ३ करोड ४२ लाख रुपैयाँ आवश्यक पर्ने बताएका छन् ।

‘ उनले आएको बजेटबाट तीन महिनाको सबै स्वास्थ्यका कर्मचारीले तलबभत्ता बुझेको र त्यसपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायत अर्थ मन्त्रालयलाई ताकेता गर्दा समेत तलब भत्ता नआएको उनको भनाइ छ । ‘वर्षको अन्तिम महिनासम्म पनि तलब नआउँदा कर्मचारीहरु मारमा परेको उनको भनाइ छ ।

गतवर्ष पनि गाउँपालिकामा दुई महिनाका लागि कर्मचारीको तलब अपुग भएको थियो । यो रकम पछि माग गर्दा असारमा आएको थियो । आउँदो आवका लागि पनि तलबभत्ता कम आएको स्वस्थ्य शाखा चौधरी बताए । सङ्घीय सरकारबाट समायोजन भएर गाउँपालिकामा कार्यरत प्रमोद कठरियाले नौ महिनादेखि तलब नपाउँदा घरव्यवहार चलाउन निकै मुस्किल भएको बताए ।

जानकीजस्तै गोदावरी नगरपालिकामा पनि स्वास्थ्यकर्मीले तलबभत्ता पाएका छैनन् । त्यहाँ पनि दरबन्दीभन्दा ३९ जना कर्मचारी बढी छन् । गोदावरीमा ५२ जनाको दरबन्दी रहेकामा ९१ जना कर्मचारी कार्यरत छन् । चालु आवमा दरबन्दी भएकै कर्मचारीको पनि रु एक करोड १३ लाख रकम कम आएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । स्थानीय तहको दोहोरो सहमतिमा स्वास्थ्य मन्त्रालयले दरबन्दीबिना कर्मचारी सरुवा गर्दा समस्या भएको टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख बलबहादुरले जानकारी दिए ।

टीकापुर नगरपालिकामा पनि १० जना कर्मचारी बिनादरबन्दी कार्यरत छन् । १४ जनाको दरबन्दी रहेकामा २४ जना कार्यरत छन् । सङ्घीय सरकारले स्वास्थ्यका कर्मचारीको तलब दिने स्थिति नभए स्थानीय तहले गरेको सम्झौताअनुरुप समायोजन भएर आएका कर्मचारीलाई तलबभत्ता दिनुपर्ने प्रमुख रावलले बताए ।

कैलालीका प्रायः सबै स्थानीय तहमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीमा यो समस्या देखिएको छ । एक–दुई महिनासम्मको तलब अपुग भएका सबै पालिका छन् । देशभर स्थानीय सरकारको रोहबरमा समायोजन भएका करिब सात हजार कर्मचारी समस्यामा परेको रावलले बताए ।

केही पालिकाले आफ्नो स्रोतबाट अपुग तलबभत्ता व्यवस्थापन गरेको पाइएको छ । चालु आवमा भजनी नगरपालिकामा रु २८ लाख तलबभत्ताको बजेट कम आएको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए । नगरपालिकामा ४० जना स्वास्थ्यकर्मी कार्यरत छन् । जसमध्ये ३० जनाको मात्रै दरबन्दी छ । बाँकी १० जना समायोजन भएर आएका कर्मचारीको तलब यस वर्ष नगरपालिकाले आफ्नै स्रोतबाट भुक्तानी गरेको उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका