जोडिनुहोस
  • होमपेज
  • कृषक पाठशालालाई एकीकरण गर्नुपर्नेमा जोड

कृषक पाठशालालाई एकीकरण गर्नुपर्नेमा जोड

काठमाडौँ । कृषक पाठशालालाई एकीकरण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कृषक पाठशाला अभ्यास सम्बन्धी नीति संवाद कार्यक्रममा विभिन्न संघसंस्था, सरकारी निकायले एउटै कृषक समूहलाई पटक–पटक तालिम दिने गरेको पाइएकाले कृषक पाठशालालाई एकरुपता बनाउनु पर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा प्रविधिमैत्री, अगुवा किसानलाई प्राथमिकता दिनुपर्ने, साना र ठुला किसानका फरक–फरक नीति हुनु पर्ने, स्थानीय स्तरका कृषक पाठशाला सहजकर्ता हुनुपर्ने, अभ्यासमा आधारित पाठशालाको सिकाइ हुनु पर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।

महासंघका अध्यक्ष पंकजकाजी श्रेष्ठका अनुसार विभिन्न निकायले कृषक पाठशाला सञ्चालन गरेकाले यसलाई एकरुपता ल्याउनुपर्ने बताए । ‘निजी तथा सरकारी लगायत विभिन्न निकायले दिएको कृषक तालिमको ज्ञान फरक फरक भएकाले एकरुपताको आवश्यक छ,’ उनले भने ।

महासंघको राष्ट्रिय निर्देशक केदार कोइरालाले सरकार संघीयतामा गइसकेपछि कृषि प्रसारको संरचना टुटेको बताए । ‘कृषक पाठशाला कृषि प्रसारको सशक्त माध्यम हो तर राज्य संघीयतामा गएपछि कृषि प्रसारको संरचना टुटेको छ,’ उनले भने, ‘आयातित कृषि उपजको उपभोग बढ्दै गएको र नेपाली कृषि हराउँदै गएको छ ।’ कोइरालाले कृषक पाठशालाले दिगो कृषिमा टेवा पुर्‍याउने बताए ।

एकराज ओझाले साना र ठुला किसानका लागि एउटै नीति भएको तर्क राखे । उनले साना र ठुला किसानलाई छुट्याएर फरक–फरक नीतिको आवश्यक रहेको बताए । ‘अगुवा किसानलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘अभ्यासमा आधारित किसानलाई तालिम दिनुपर्छ, अबका दिनमा अभ्यासमा आधारित कृषक पाठशालाको पाठ्यक्रम बनाउनुपर्छ, बजारीकरणमा जोड दिनुपर्छ ।’

लि–बर्डका अधिकारी निरजन पुडासैनीले स्थानीय भाषामा आधारित कृषक पाठशालाको सहजकर्ता हुनुपर्ने सुझाएका छन् । सहजकर्ता छनौट गर्दा स्थानीय तहको कृषि ज्ञान केन्द्रसँग समन्वय हुनुपर्ने यसले सो स्थानको भाषा जानेको मान्छे छनौट गर्न सजिलो हुने बताए । नेपाल उद्योग वाणिज्य संघका अधिकारी अरुण श्रेष्ठले कृषक पाठशाला प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोडले दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका