जोडिनुहोस
  • होमपेज
  • भारतीयका फिल्मका भिलेन ‘हस्व दिर्घ’मा अभिनय गर्न काठमाडौंमा

भारतीयका फिल्मका भिलेन ‘हस्व दिर्घ’मा अभिनय गर्न काठमाडौंमा

काठमाडौं– नायिका नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘हस्व दिर्घ’ मा अभिनय गर्न भारतीय कलाकारहरू काठमाडौं आइपुगेका छन् । चौथो चरणको छायांकनका लागि भारतीय कलाकारहरू प्रदीप रावत र सुनील वर्मा काठमाडौं आएका हुन् ।

निर्माण पक्षले सोमबार ललितपुरको एक होटलमा पत्रकार सम्मेलन गरी अन्तिम चरणको छायांकनका लागि उनीहरु काठमाडौं आएको जानकारी दिएको हो । सुनील दक्षिण भारतीय फिल्म ‘पुष्पा’का मुख्य मध्येका एक खलपात्र हुन् । त्यस्तै, प्रदीप बलिउड फिल्म ‘गजनी’का खलपात्र हुन् ।

आइतबारबाट सुरु भएको छायांकन ४ दिनमा सकिने निर्देशक चन्द्र पन्तले जानकारी दिए । उनकाअनुसार काठमाडौंका केही स्थानमा अन्तिम चरणको छायांकन बाँकी रहेको छ । ‘ललितपुरबाट हामीले छायांकन सुरु गर्यौं । लगभग छायांकन पूरा भयो,’ निर्देशक पन्तले भने ।

प्रदीप र सुनीलको अंशको छायांकन भइरहेको फिल्मकी नायिकासमेत रहेकी नीताले बताइन् । त्यस्तै, प्रदीपले फिल्ममा आफू नीताको बुवाको भूमिका निर्वाह गरेको जानकारी दिए । साथै उनले नीताको अभिनयको प्रशंसासमेत गरे । उनले भने, ‘हामीले यसअघि फिल्म माहीमा पनि स्क्रिन सेयर गरेका थियौं । उहाँ बालकलाकार हुँदादेखि नै राम्रो अभिनय गर्नुहुन्थ्यो, त्यसको जानकारी मलाई छ ।’

सुनील वर्माले नेपाली फिल्ममा अभिनय गर्न पाउँदा खुशी लागेको बताए । उनले भने, ‘हस्व दिर्घले नेपाली फिल्मलाई भारतीय सिनेमा उद्योगसँग जोड्ने पुलको काम गरेको छ । यो दशैंमा हामीले तपाईंहरुलाई कोसेली फिल्म लिएर आएका छौं ।‘

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसै फिल्मबाट पन्तले निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्ममा नीता, प्रदीप, सुनीलसहित हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

यस फिल्मको कथा अभिनेता हरिहर अधिकारीको हो । पटकथा तथा संवाद भने हरिहर, प्रतीक पौडेल र निर्देशक पन्त मिलेर लेखेका हुन् । नेपाली, तेलुगु र हिन्दी भाषामा फिल्म निर्माण हुने बताइएको छ । नेपालका लागि प्रदर्शन मिति आगामी असोज ३ गतेलाई तोकिएको छ ।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?