
रामपुर– पूर्वखोला गाउँपालिका–६ हेक्लाङका अग्निपीडित छ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् ।
हङकङमा रहेका नेपालीले हङकङ मगर संघ र पाल्पा श्रीनगर समाजले दुई लाख ३० हजार नगद संकलन गरेर पीडितलाई प्रदान गरेका हुन् । दुवै संस्थाले अग्निपीडित परिवारलाई राहतस्वरुप उक्त रकमसहित लत्ताकपडा उपलब्ध गराएका हुन् ।
गत वैशाखमा भएको आगलागीबाट हेक्लाङ खुमडाँडाका छ वटा घर नष्ट थिए । आगो जंगलबाट फैलिएको हो । दातृ संस्थाकी पदाधिकारी, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्यको उपस्थितिमा आज नगद र लत्ताकपडा प्रदान गरिएको हो ।