जोडिनुहोस
  • होमपेज
  • लोसपाले भन्यो– संविधान संशोधन गर्ने कांग्रेस–एमालेकोे गठबन्धन सकारात्मक

लोसपाले भन्यो– संविधान संशोधन गर्ने कांग्रेस–एमालेकोे गठबन्धन सकारात्मक

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कांग्रेस–एमाले गठबन्धनलाई स्वागत गरेको छ । लोसपाका महामन्त्री डा. सुरेन्द्र झाले मधेस आन्दोेलनले उठाएर थाती बसेको संविधान संशोधनको मुद्दा लिएर गठबन्धन बनेका कारण लोसपाले यसलाई स्वागत गरेको बताए ।

उनले सानो पार्टी भएर पनि निरन्तर प्रधानमन्त्री पदमा बस्दा प्रचण्डले हैसियत भुलेर दम्भ देखाएका कारण पनि अहिलेको गठबन्धन आवश्यक भएको बताए । “अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०५२ पछिको राप्रपाको जस्तो राजनीति गर्दै हुनुहुन्थ्यो । ३२ सिट भएर पनि सरकारको नेतृत्व पाउँदा प्रचण्डमा जुन प्रकारको दम्भ देखिएको थियो र जुन ढंगले संसद्लाई बन्धक बनाउने काम भएको थियो त्यसबाट मुक्ति पाउन आवश्यक भइसकेको थियो,” महामन्त्री डा. झाले भने, “संविधान संशोधनमार्फत बाँकी मधेस आन्दोलन र अन्य आन्दोेलनका थाती रहेका मुद्दालाई सम्बोधन गर्न नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँ उभिनुपर्ने आवश्यक छ ।”

उनले ०७२ सालको भूकम्प र कोरोना महामारीले ल्याएको आर्थिक मन्दीबाट देशलाई निकास दिन पनि मुख्य दलबीच सहमतिको आवश्यकता देखिएको बताए ।

उनले लोसपा विगतदेखि नै कांग्रेससँगै रहेको भन्दै अब पनि वर्तमान गठबन्धनका विषयमा सकारात्मक रहेको बताए । “लोसपा नेपाल त गएको निर्वाचनमै नेपाली कांग्रेससँगै थियो । मधेस आन्दोेलनले उठाएका संविधान संशोधनका केही सवाल अझै सम्बोधन भएका छैनन्,” डा. झाले भने, “यी सबै कुरा सम्बोधन गर्ने र देशमा रहेका निराशा चिर्दै मधेस आन्दोलनका मागसमेत सम्बोधन हुने गरी संविधान संशोधन अघि बढाउँदा हामी यो गठबन्धनलाई स्वागत र समर्थन गर्नेछौँ ।”

धेरै टिप्पणी गरिएका