जोडिनुहोस
  • होमपेज
  • कांग्रेस–एमाले गठबन्धन हो भने अब बन्ने सरकार पश्चगमन र प्रतिगमनको दिशामा जान्छ : गुरुङ

कांग्रेस–एमाले गठबन्धन हो भने अब बन्ने सरकार पश्चगमन र प्रतिगमनको दिशामा जान्छ : गुरुङ

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङले संविधान संशोधनको ‘प्यान्डोरा बक्स’ खोलेर देशलाई विवादमा फसाउने र मुलुकलाई द्वन्द्धमा लैजाने काम भएको बताएका छन् ।

उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर २०४७ को स्थितिमा देश पुर्‍याउन खोजेको बताए । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मिडियामा आएजस्तो कांग्रेस–एमाले गठबन्धन हो भने अब बन्ने सरकार पश्चगमन र प्रतिगमनको दिशामा जाने बताए । उनले संविधानमा कमीकमजोरी र सुधार गर्नुपर्ने अनेक ठाउँ भए पनि क्रमिक सुधारको आवश्यक रहेको बताए ।

“द्वन्द्व मच्याउने आन्तरिक रूपमा सिस्टमलाई ड्यामेज गर्दिने अर्को स्थापना गर्न नसक्ने, भ्याकुमको स्थिति सिर्जना हुने र संकट निम्तने प्रक्रियाबाट गयो भने शक्ति केन्द्रले ढुंगा खोज्दा देउता फेला परेजस्तो हुन जान्छ,” उनले भने, “राष्ट्रिय अस्मिताको कोणबाट हेर्दा पनि यो राष्ट्रघाती कदम हो ।”

आफूहरूले राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्दा कसैले नमानेको तर, मध्यरातमा दुई दल राष्ट्रिय सहमतिको सरकार भनेर हल्ला गर्दै हिँडेको बताए । उनले दुई दलको सहभागितामा कसरी राष्ट्रिय सहमतिको सरकार हुने उल्लेख गरे । “वामपन्थीहरूको कोलिसनको मेजूरीटी रहेको अवस्थामा अर्को कोलिसनमा जाने भनेको दक्षिणपन्थीको कोलिसन भएको भन्दै पश्चगामी दिशामा गएको देखिन्छ,” उनले भने ।

वर्तमान संविधानको जग बृहत् शान्ति सम्झौता भएको भन्दै उनले स्टेकहोल्डर पनि सम्झौता प्रक्रियामा रहेका दलहरूनै रहने भनाइ उनको छ । “षडयन्त्रपूर्ण ढंगबाट मध्यरातमा अन्तरकुन्तर मिलाउन संशोधनको कुरा गरेको छ । जे जे विषय समावेश गरेको छ शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धि उल्टाउन खोजेको छ,” उनले भने, “यसले अहिलेका वर्तमान उपलब्धि उल्टाएर २०४७ सालको संविधानको दिशामा लैजान खोजेको देखिन्छ । त्यसकारण प्रतिगामी छ ।”

उनले नवनिर्मित गठबन्धनले दुई धारमा समाजलाई विभाजन र विखण्डन गर्दिने काम गर्न खोजिएको आरोप लगाए । साथै, समाजमा विविध प्रकृतिको विचार र चिन्तन सबैलाई निषेध गरिदिने, एक प्रकारको सर्वसत्तावादी एकाधिकार अधिनायकवादी राख्ने काम भएको उल्लेख गरे ।

धेरै टिप्पणी गरिएका