
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पटकपटक मन्त्री बनिसकेकाहरूलाई अबको मन्त्रिमण्डलमा पठाउन नहुने बताएका छन् । बिहीबार सुनसरीको इटहरीमा पुगेका उनले अब बन्ने कांग्रेस–एमाले सरकारमा यसअघि नै पटकपटक अवसर पाइसकेकाहरूलाई विश्राम दिनुपर्ने बताए ।
पार्टीले निर्णय गरेर मन्त्री पठाउँदा समावेशीतालाई उच्च प्रथाामिकता दिनुपर्ने उनको भनाइ छ । उनले दलित, मधेसी महिलालगायत सबैलाई मिलाएर मन्त्री बनाउनुपर्ने तर्क गरे ।
“हाम्रो नेविसंघका भाइबहिनीले ०८१ सालको उदाहरण दिन पाओस् न, मधेसी, दलित, थारू पनि छ भनेर,” उनले भने, “योभन्दा अगाडि ९ जनामा एकजना दलित परेन । अनि कहिले पठाएको भन्दा २०१५ सालको उदाहरण दिनुपरेको छ ।”
उनले परिणाम दिन सक्छु भन्ने विश्वास भएका सांसदलाई मन्त्री बनाएर पठाउनुपर्ने बताए ।