जोडिनुहोस
  • होमपेज
  • नेपालमा गोताखोरको संख्या ११० पुग्यो

नेपालमा गोताखोरको संख्या ११० पुग्यो

मुग्लिन । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ । चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्षालयले गत जेठ ९ गतेदेखि तालिम सञ्चालन गरेको थियो ।

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विपद्को जोखिममा परेका नागरिकको जीवनरक्षा गर्न आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई इमान्दारिका साथ मानव सेवामा समर्पित गर्न आग्रह गरे ।

उनले भने, “देशमा मनसुन सुरु भइसकेको छ, नागरिकको जीउधनको सुरक्षा गर्ने कुरालाई केन्द्रविन्दुमा राखेका छौँ ।” प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले सशस्त्र प्रहरीले नागरिकको सुरक्षाका लागि अहम भूमिका निर्वाह गरिरहेको बताए । प्रदेश सरकारको सहयोगमा ३६ दिनसम्म सञ्चालित तालिममा १९ जना सहभागिता थियो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले नेपालमा गोताखोरको संख्या ११० पुगेको जानकारी दिए । शिक्षालयका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेलले प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोसी नदीमा तालिमको अभ्यास गराइएको बताए । प्रशिक्षार्थीहरूले पानीजन्य घटना–दुर्घटनामा उद्धारसम्बन्धी नमूना अभ्यास प्रदर्शन गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका