जोडिनुहोस
  • होमपेज
  • वेब सिरिजबाट अरूणिमा लम्सालको कमब्याक

वेब सिरिजबाट अरूणिमा लम्सालको कमब्याक

एक समयकी चर्चित अभिनेत्री अरूणिमा लम्साल १० वर्षपछि अभिनयमा कमब्याक गरेकी छन्।

उनी वेब सिरिज ‘घर बट इन अमेरिका’ बाट अभिनयमा फर्किएकी हुन्। यो सिरिजको अमेरिकामा नै छायांकन भइरहेको छ।सन् २०१५ देखि अमेरिकामा रहेकी अरूणिमाको पछिल्लो फिल्म ‘पिपल’ हो। वेब सिरिजलाई बिमलेश अधिकारीले निर्देशन गरिरहेका छन्। यसमा बिमलेश आफैले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन्।

एक समय नेपाली म्युजिक भिडिओमा निकै ब्यस्त अधिकारीले केही फिल्ममा समेत अभिनय गरेका छन्। सन् २०१५ देखि अमेरिकाको मेरिल्यान्ड बस्दै आएका उनले पछिल्लो पटक सन् २०१६ मा ‘जंग बहादुरको कोट’ फिल्ममा अभिनय गरेका थिए। उनले म्युजिक भिडिओमा अभिनय र निर्देशन भने गरिरहेका थिए।

सिचुएशनल कमेडी–ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन संयुक्त राज्य अमेरिकामा नै हुने निर्देशक अधिकारीले बताए। विवेक चम्लागाईंले लेखेको यो सिरिजमा गोप्य रूपमा लिभ–इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरको कथा रहनेछ।

पछिल्लो समय अमेरिकामा नै रहेका कलाकारहरू राधाबाबु लम्साल र खेम शर्माको पनि सिरिजमा प्रमुख अभिनय रहनेछ। यही सिरिजबाट आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले डेब्यु गर्दैछन्।

सेभेन कलर्स डिजिटलले निर्माण गर्ने सिरिजलाई पशुपति बस्यालले छायांकन गरेका छन्। यो सिरिज स्ट्रिमिङ हुने प्लाटफर्म भने खुलाइएको छैन। पहिलो सिजन छायांकनपछि मात्र यसबारे जानकारी दिने निर्देशक अधिकारीले बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका