जोडिनुहोस
  • होमपेज
  • एन्फा यु-१८ युथ लिगको तयारी पूरा, १२ टोली भिड्ने

एन्फा यु-१८ युथ लिगको तयारी पूरा, १२ टोली भिड्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यहि असार ३० देखि हुने ललित स्मृति एन्फा यु-१८ युथ लिगको तयारी पूरा भएको छ । एन्फाले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने प्रतियोगितामा १२ वटा क्लब सहभागी हुनेछन् । सहभागी १२ क्लबमा एपीएफ फुटवल क्लब, चर्च व्याइज फुटबल क्लब, एफसी खुमलटार, मछिन्द्र क्लब, मनाङ मर्स्याङ्दी क्लब, जावलाखेल युथ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, सातदोबाटो युथ क्लब, श्री स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब छन् । खेल डबल राउन्ड रोविनका आधारमा हुनेछन् ।

तयारी खर्च स्वरुप ३ लाख ५० हजार रुपैयाँ हरेक सहभागी क्लबहरुलाई उपलब्ध गराउने एन्फा प्रवक्ता शाहले जानकारी । प्रतियोगिताका सबै खेल एन्फा कम्प्लेक्समा खेलाउने तयारी भए पनि आवश्यकताका आधारमा अन्य खेल मैदान पनि प्रयोग गर्न सकिने एन्फाले जनाएको छ । लिगको टुर्नामेन्ट डिरेक्टर सन्जिव मिश्रले यो प्रतियोगिता फिफाको ट्यालेन्ट डेभलपमेन्ट स्किम (टीडीएस) परियोजना अन्तर्गत सम्पन्न गर्न लागिएको बताए ।

यसअघि ललित स्मृति यू१८ च्याम्पियनसिप नकआउटका आधारमा हुँदै आएको थियो । यसपटक भने यु१८ युथ लिगलाई नै ललित स्मृतिको नामबाट गर्न लागिएको प्रतियोगिता सञ्चाल समितिको संयोजक समेत रहेका एन्फा उपाध्यक्ष दीपक खतिवडाले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ, उपविजेता टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समान १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।प्रतियोगिताको अनुमानित खर्च ८१ लाख ९१ हजार ८० रुपैयाँ रहेको आयोजक एन्फाले जानकारी दिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका