जोडिनुहोस
  • होमपेज
  • किसानलाई दूधको ३२ करोड रुपैयाँ भुक्तानी दिलाउन मुख्यमन्त्रीको पहल

किसानलाई दूधको ३२ करोड रुपैयाँ भुक्तानी दिलाउन मुख्यमन्त्रीको पहल

विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनाले किसानले बेचेको दूधको ३२ करोड रुपैयाँ भुक्तानी नगरेको विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चासो व्यक्त गरेका छन् ।

उनले दुग्ध वितरण आयोजनाका कर्मचारीलाई मुख्यमन्त्री कार्यालय बोलाएर किसानको पैसा भुक्तानीको लागि आग्रह गरेका हुन् ।विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशको धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथरसाथै मधेस प्रदेशको सप्तरी जिल्लासमेत गरेर किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

कार्यालयका प्रमुख परमेश्वर चौधरीका अनुसार बजारमा खुल्लारुपमा बिक्री भइरहेको दूधभन्दा आयोजनाले बेच्ने दूध महँगो भएको र बजारीकरणमा पनि समस्या भएकाले अहिलेको अवस्था आएको बताएका छन् । आयोजनाले प्रतिलिटर ९८ रुपैयाँमा दूध बिक्री गरिरहेको चौधरीले जानकारी दिए । शुक्रवार विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख चौधरीसहित कर्मचारीहरूलाई कार्यालयमा बोलाएर सो रकम कसरी उपलब्ध गराउन सकिन्छ र प्रदेश सरकारले केके गर्न सक्छ भन्ने विषयमा मुख्यमन्त्रीले छलफल गरेका थिए ।

प्रदेश सरकार तीनै तहको संरचनासँग समन्वय गरेर अगाडि बढ्ने सरकार भएकाले किसानको गुनासोलाई सम्बोधन गर्न सरोकारवालालाई बोलाएर समन्वय र निर्देशन दिइएको मुख्यमन्त्री कार्कीले बताए । उनले आयोजनाको कार्य प्रगति, संस्थाको अवस्था र बजारका विषयमा छलफल गरेका थिए । उनले आयोजना सङ्घीय सरकारको संरचना भए पनि किसानहरूको हितलाई ध्यानमा राखेर आयोजनासँग सहकार्य गर्ने र पूर्णरुपमा सञ्चालन र बजारीकरणका लागि सङ्घीय सरकारसँग पनि छलफल गरेर अगाडि बढ्ने बताए । मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारसँग पनि किसानको रकम उपलब्ध गराउन तत्कालै कुराकानी गर्ने र चाँडोभन्दा चाँडो रकम दिनका लागि समन्वय गर्ने बताए । कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्मासहितको उपस्थितिमा छलफल भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका